images

यौन दुर्व्यवहारको आरोपमा इस्कोनका आठ पदाधिकारी निलम्बित

काठमाडौँ । बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा बूढानीलकण्ठ नगरपालिका–५ मा रहेको अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का आठ पदाधिकारी निलम्बनमा परेका छन् । परमेश्वर अच्युत दास भनी चिनिने अध्यक्ष प्रदीप भण्डारीबाहेकका केन्द्रीय पदाधिकारी एवं क्षेत्रीय सचिव पत्री दाससहितलाई सेप्टेम्बर १४ को निर्णयले निलम्बन गरिएको इस्कोनले जनाएको छ । त्यहाँ केही महिनाअघि आश्रित बालबालिकामाथि हिंसा तथा यौन दुर्व्यवहारको घटना भएको थियोे । घटनामा भक्तिवेदान्त गुरुकुलका प्रधानाचार्य सुन्दरगोपाल दास भनिने सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका थिए ।  इस्कोनको अन्तर्राष्ट्रिय समितिले भदौ २८ गते (सेप्टेम्बर १४) गरेको निर्देशनबमोजिम अन्य पदाधिकारी पनि निलम्बनमा परेका हुन् । निलम्बित हुनेमा क्षेत्रीय सचिव इगोर ओबोलोन्कोभ (पत्री दास), नेपाल कार्यकारी समितिका सचिव रुपेश्वर गौर दास (रुपेश जोशी), उपाध्यक्ष सुचारु गोपी देवी दासी (सोइन्जा श्रेष्ठ), प्रधानाचार्य सुरजकृष्ण श्रेष्ठ, कोषाध्यक्ष दिव्या राधिका देवी दासी (देवीना साख), कार्यकारी सदस्य पुष्पाञ्जली देवी दासी (प्रेमा चन्द), उपाध्यक्ष महाप्रभु कृपा दास (सविन रेग्मी) र सचिव हरिहर करुणामय दास (हरेन्द्र ठाकुर) छन् ।

बिहीबार १ असोज २०८३ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया