images

कोबे कपमा बेनी एफसी ओसाकाको दबदबा, उपाधिसहित व्यक्तिगत पुरस्कारमा पनि वर्चस्व

कोबे, जापान। इन्टर कान्साई कोबे कप २०२६ फुटबल प्रतियोगिताको उपाधि बेनी एफसी ओसाकाले जितेको छ।  नोभेम्बर १ आइतबार सम्पन्न प्रतियोगितामा बेनी एफसी ओसाकाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुमेको हो। कोबे युनाइटेड नेपाल कोबे जापानको आयोजनामा तथा कोबे सान्नोमियास्थित कुटुम्बा किचन कासुगानोमिचीको मुख्य प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगिताको विजेता बेनी एफसी ओसाकाले नगद तीन लाख जापानी येन पुरस्कार प्राप्त गरेको छ भने उपविजेता क्योटो फ्रेन्ड्स युनाइटेडले एक लाख ५० हजार जापानी येन प्राप्त गरेको छ।

प्रतियोगितामा बेनी एफसी ओसाकाका खेलाडीहरूले व्यक्तिगत विधाका पुरस्कारमा समेत उत्कृष्ट प्रदर्शन गरेका छन्। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बेनी एफसी ओसाकाका जय मोक्तान ‘फाइनल खेलको उत्कृष्ट खेलाडी’ घोषित भएका छन्।

त्यसैगरी, बेनी एफसी ओसाकाका मिलन थापा प्रतियोगिताको सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडी घोषित भएका छन्। उत्कृष्ट गोलरक्षकको उपाधि पनि बेनी एफसी ओसाकाकै आकाश छेत्रीले प्राप्त गरेका छन्।

प्रतियोगितामा विजेता र उपविजेतासहित उत्कृष्ट खेलाडीहरूको सम्मानले जापानमा नेपाली समुदायबीच फुटबलप्रतिको आकर्षण र खेलकुद गतिविधिलाई थप उत्साह प्रदान गरेको आयोजक कोबे युनाइटेड नेपाल पूर्व अध्यक्ष अमृत लिम्बुले बताए । प्रतियोगितामा जापानमा रहेका करिब २९ वटा फुटबल क्लबहरुले सहभागिता जनाएका थिए ।

सोमबार १७ कात्तिक २०८३ ०६:३९ PM मा प्रकाशित

प्रतिक्रिया