बाजुरा । बडीमालिका नगरपालिका स्थित मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिएको ७५ प्रतिशत शिक्षक बढुवा प्रक्रियाअन्तर्गत माध्यमिक तहबाट प्रथम श्रेणीमा बढुवा भएका छन् ।शिक्षा क्षेत्रप्रति समर्पित पाध्याय लामो समयदेखि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको समग्र विकास तथा अनुशासित शैक्षिक वातावरण निर्माणमा सक्रिय रहँदै आएका छन् । उनको नेतृत्वमा विद्यालयले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय प्रगति हासिल गरेको बताइएको छ ।कार्यसम्पादन मूल्याङ्कनका आधारमा भएको उक्त बढुवामा बाजुरा जिल्लाबाट प्रथम श्रेणीमा पाध्याय चयन हुनु स्थानीय शिक्षा क्षेत्रका लागि गौरवको विषय मानिएको छ । स्थानीय सरोकारवालाहरू, शिक्षक तथा अभिभावकहरूले पाध्यायको सफलताप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादनको अपेक्षा गरेका छन् ।उनको यस उपलब्धिले विद्यालय मात्र नभई समग्र बाजुरा जिल्लाको शैक्षिक क्षेत्रलाई प्रेरणा प्रदान गरेको छ ।
प्रतिक्रिया