images

वाइसीएनसीको दशौं वार्षिकोत्सव सम्पन्न, राजनीतिक स्थायित्व नभएकै कारण निर्माण उद्योगमा समस्या: उपप्रधानमन्त्री महासेठ

असार ०४, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मुलुकमा राजनीतिक स्थायित्व नभएकै कारण निर्माण उद्योग लगायतका अन्य उद्योगमा समस्या देखिएको बताउनु भएको छ । नेपाली युवा निर्माण व्यवसायीहरूको छाता संस्था युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर्स (YCNC) को दर्शौ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री महासेठले सबै उद्योगको विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका उपप्रधानमन्त्री महासेठले राजनीतिक स्थायित्वकै अभावमा मुलुकमा विकास हुन नसकेको बताउनुभयो । निर्माण व्यवसायीहरूको भुक्तानी रोकिएको स्विकार गर्दै उपप्रधानमन्त्री महासेठले यही असार मसान्तसम्म जसरी पनि रकम भुक्तानी गरिने प्रतिबद्धता जनाउनुभयो । व्यवसायीहरूले पाउनु पर्ने रकमको यकिन तथ्यांक नहुँदा पनि भुक्तानीमा केही समस्या देखिएको उहाँले बताउनुभयो । निर्माण उद्योगको विकासका लागि समायानुकुल ऐन कानून परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याउँदै उपप्रधानमन्त्री महासेठले अब निर्माण सम्बन्धी ऐन कानून संशोधन गर्दा निर्माण व्यवसायीहरूलाई अनिवार्य संलग्न गराइने जानकारी दिनुभयो । नेपाली निर्माण व्यवसायीहरू विगतमा भन्दा पेशागत रुपमा सक्षम हुँदै गएको बताउँदै उपप्रधानमन्त्री महासेठले विदेशी निर्माण व्यवसायीलाई स्वदेशी व्यवसायीले विस्थापित गर्नैपर्ने धारणा राख्नुभयो ।

पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य विक्रम पाण्डेले ‘सिस्टम’ मा बसेर मुलुकमा केही गर्न सक्ने अवस्था नरहेको भन्दै निर्माण उद्योग सहित सबै क्षेत्रमा उस्तै विकराल समस्या रहेको बताउनुभयो । आम्दानीको तुलनामा मुलुकको खर्च बढ्दै गएकाले निजी क्षेत्र मारमा परेको पूर्व मन्त्री पाण्डेको भनाइ थियो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हितमा काम गर्न राजनीतिक नेतृत्व चुकेको बताउनुभयो ।

आर्थिक वर्ष २०८१/८२ को बजेटबाट निर्माण उद्योगको समस्या समाधान नभएको भन्दै अध्यक्ष सिंहले निर्माण उद्योग चलायमान नभएकाले आर्थिक समस्या चुलिएको टिप्पणी गर्नुभयो । निर्माण मैत्री ऐन कानून नआएसम्म निर्माण उद्योगको विकास हुन नसक्ने अध्यक्ष सिंहको भनाइ थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष रमेश शर्माले निर्माण उद्योग शिथिल भएकाले नै मुलुकको समग्र अर्थतन्त्र बिग्रिएको बताउनुभयो । निर्माण उद्योगको विकासका लागि राज्यका निकायहरू सकारात्मक रुपमा प्रस्तुत हुन नसकेको शर्माले बताउनुभयो ।

महासंघका अर्का सल्लाहकार एवं पूर्व अध्यक्ष जयराम लामिछानेले ‘प्रशासनतन्त’ असहयोगी हुँदा निर्माण व्यवसायीहरूमाथि चुनौतीका चाङ थपिएको बताउनुभयो । स्वागत मन्तव्य राख्दै युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर्स (वाइसीएनसी) का अध्यक्ष सुशील कुमार श्रेष्ठले निर्माण उद्योगलाई मर्यादित एवं व्यवस्थित बनाउन युवा व्यवसायीहरू कटिबद्ध रहेको बताउनुभयो । सामाजिक उत्तरदायित्वहन गर्दै युवा निर्माण व्यवसायीहरूले पछिल्लो एक दशक उत्कृष्ट काम गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । वाइसीएनसीका कार्य समिति सदस्य सौरभ शर्माले निर्माण उद्योगको समस्या र समाधानका उपाय सहितको मन्तव्य राख्दै निर्माण उद्योगलाई राज्यले ठूलो उपेक्षा गरेको धारणा राख्नुभयो ।

सोही अवसरमा वाइसीएनसीका पूर्व अध्यक्ष निकोलस पाण्डेले संचालन गर्नु भएको प्यानल डिस्कसनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, नायव महालेखा परीक्षक घनश्याम पराजुली, अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्य, नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी र वाइसीएनसीका पूर्व अध्यक्ष आनन्दप्रसाद सुवेदीबीच निर्माण उद्योगका विविध समस्याका बारेमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा वाइसीएनसीले हालै लेपालका लागि किर्गिज गणतन्त्रको अवैतनिक महावाणिज्यदूत नियुक्त नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एर्व पूर्व अध्यक्ष रमेश शर्मालाई सम्मान गरेको थियो । वाइसीएनसीका महासचिव दीपकराज जोशीले धन्यवाद मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थामा प्रवेश गरेका नयाँ सदस्यहरूलाई सदस्यता प्रदान गरिएको थियो ।

मङ्गलबार ५ असार २०८१ ०६:५३ PM मा प्रकाशित

प्रतिक्रिया