काठमाडौँ - भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ।
आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरेका हुन्। राजदूत श्रीवास्तबले नेपाल सरकारलाई एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए। उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरे।
उनले भने, “यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ। नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारतमैत्री ट्रमा अस्पताल, बिपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ।”
उनका अनुसार सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको छ। उनले अहिले भारत सरकारले सिरहादेखि सिन्धुलीसम्म विभिन्न १० प्रकारका परियोजनामार्फत काम गरिरहेको बताए।
“भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा नौ सय ५० एम्बुलेन्स उपलब्ध गराएको छ। छिटै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको सङ्ख्या एक हजार पुर्याउनेछौँ”, उनले भने।
मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरे। उनले भने, “धेरै मिर्गौला बिरामीले समयमा डायलासिस सेवा पाउन सकेका छैनन्। भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पु¥याउँछौँ र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्नेछ।”