काठमाडौँ - नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन् ।
स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ। पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी आउन थालेका बताइएको छ ।
बिरामी थपिँदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ। महाशाखाको तथ्यांक अनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
हालसम्म सुनसरी १ हजार ५७१, धादिङमा २ सय ५८, दार्चुलामा १ सय ८८, कास्कीमा १ सय ४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ। यस्तै काठमाडौंमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५, झापामा ३२ जना डेंगु संक्रमित फेला परेका छन् ।