काठमाडौँ - काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ।
फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ।
कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने तयारी गरिएको हो। यसका लागि कामपाले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ। “छलफल सकारात्मक भएकाले आगामी हप्तादेखि उक्त परियोजना पुनः सञ्चालनमा ल्याउने तयारीमा छौँ”, उनले भने।
उक्त परियोजना लागि युरोपियन युनियनले रू चार करोड ६० लाख र कामपाले रू एक करोड ८२ लाख लगानी गरेका थिए।
एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ। उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ। विसं २०७०देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकामा २०७४ सालदेखि आधिकारिक रूपमा सञ्चालन गरिएको थियो।
लामोसमयदेखि वायोग्यास प्लान्ट बन्द हुँदा वायोग्यास उत्पादनमा समस्या हुनाका साथै वायो ऊर्जासम्बन्धी नेपालमा अध्ययन तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई समस्या भएकाले पुनः जडान गर्न लागिएको बताइएको छ।