images

घुम्टे युवा परिवार जापानद्वारा पाँचौँ खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना

दिनेश थापा,  टोकियो, जापान ।

घुम्टे युवा परिवार जापानले आगामी अक्टोबर ८ तारिख बिहीबार जापानमा पाँचौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। “खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापना भएको घुम्टे युवा परिवार जापान सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएको छ।

प्रवासमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन, संरक्षण तथा संवर्द्धन गर्दै जापानमा रहेका नेपाली खेलाडीहरूलाई निरन्तर खेलकुदमा सक्रिय बनाइराख्ने उद्देश्यले प्रतियोगिताको पाँचौँ संस्करण आयोजना गर्न लागिएको संस्थाकी अध्यक्ष कल्पना खड्काले बताइन्।

अध्यक्ष खड्काका अनुसार घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन कायम गर्ने, खेलकुदको संरक्षण तथा प्रवर्द्धन गर्ने र युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने उद्देश्यले भएको हो। यही उद्देश्यअनुरूप प्रवासमा रहेका नेपाली खेलाडीहरूको हौसला अभिवृद्धि गर्न आवश्यक महसुस गरी भलिबल प्रतियोगिताको सुरुवात गरिएको उनले बताइन्।

प्रतियोगितामा जापानमा रहेका विभिन्न सामाजिक संघ–संस्था तथा खेलकुद क्लबहरूबाट उत्साहपूर्ण रूपमा टोलीहरूको सहभागिता रहने विश्वास व्यक्त गर्दै संस्थाका सचिव प्रकाश थापाले प्रवासमा रहेर पनि नेपाली भलिबल खेललाई निरन्तरता दिन प्रतियोगिताको आयोजना गरिएको बताए।

उनले भने, “प्रतियोगितामा सहभागी भई खेलकुदको विकास र प्रवर्द्धनमा साथ दिन सम्पूर्ण खेलाडी तथा सम्बन्धित संघ–संस्थालाई हार्दिक अनुरोध गर्दछौँ।” अघिल्ला प्रतियोगिताहरूबाट प्राप्त अनुभव र सिकाइलाई आत्मसात् गर्दै जापानमा आयोजना हुने अन्य भलिबल प्रतियोगिताका लागि समेत नमुना प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक तयारी भइरहेको सचिव थापाले जानकारी दिए।

प्रतियोगिता इबाराकी प्रान्तको उशिकु शहरस्थित उशिकु स्पोर्ट्स पार्क जिम्नेसियमको खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने बताइएको छ। कार्यक्रम संयोजक मनोज केसीका अनुसार प्रतियोगिताको पुरस्कार राशि, विधागत पुरस्कार, खेल तालिका तथा अन्य आवश्यक विवरणहरू केही समयपछि सार्वजनिक गरिनेछ।

घुम्टे युवा परिवार जापानले खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्दै प्रवासमा नेपाली कला, संस्कृति र खेलकुदको पहिचानलाई थप मजबुत बनाउने उद्देश्यसहित प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण नेपाली समुदाय, खेलाडी तथा संघ–संस्थाको सहयोग र सहभागिताको अपेक्षा गरेको छ।

बुधबार १० भदौ २०८३ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया