जुम्ला । जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै घरका पाँचजना सदस्य बिरामी भएका छन् ।आइतबार दिउँसो करिब ३ बजे जंगली च्याउ खाएपछि उनीहरूमा पेट दुख्ने, वान्ता हुने लक्षण देखिएको थियो ।बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय पुजन बिष्ट रहेका छन्। उनीहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको थियो, जहाँ हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।बिरामी परेका सबै व्यक्ति गुठिचौर गाउँपालिका–१ मणिसाँघुस्थित लेखकमान महतराको घरका सदस्य रहेका छन् । घटनाको जानकारी पाएपछि मणिसाँघु प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । स्थानीयका अनुसार मन्थर क्षेत्रमा विषालु च्याउ खाएर ज्यानै जाने घटनाहरु हुने गरेको तर जनचेतनाको अभावले जोखिम कायमै रहेको छ । प्रहरी र स्वास्थ्य संस्थाहरूले जंगली च्याउ चिनेर मात्र सेवन गर्न अनुरोध गरेका छन् । घटना सम्बन्धी थप अनुसन्धान भैईरहेको छ ।
प्रतिक्रिया