नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति पौडेलद्वारा जापानी लगानीको आह्वान

टोकियो, जापान । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आग्रह गर्नुभएको छ।

राजनीतिक मुद्दाहरू निष्कर्षमा पुगेकाले अब नेपालको प्राथमिकता तीव्र सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नु रहेको उहाँले बताउनुभयो। व्यापार सहजता, विदेशी लगानी प्रवर्द्धन र नवप्रवर्तनका लागि नेपालले आवश्यक कानुनी तथा संस्थागत सुधार गरिसकेको राष्ट्रपति पौडेलको भनाइ थियो।

उहाँले नेपाल–जापान सम्बन्ध राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रसँगै जनता–जनताबीचको सम्बन्धका रूपमा समेत सुदृढ हुँदै गएको उल्लेख गर्नुभयो। बुद्धको जन्मस्थल लुम्बिनीले दुई देशका जनताबीचको सम्बन्ध मजबुत बनाएको र विश्व शान्तिको मुहानका रूपमा लुम्बिनी विकासमा जापानको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

जापान नेपालको प्रमुख विकास साझेदार रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस वर्षभित्र नेपाल अति कम विकसित देशको सूचीबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्यमा रहेको जानकारी दिनुभयो।

नेपाल जापानी पर्यटकको मनपर्ने गन्तव्य बनेको र नेपाली विद्यार्थी तथा युवालाई सुरक्षित वातावरण उपलब्ध गराएकोमा पनि उहाँले जापान सरकारप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

सो अवसरमा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले राष्ट्रपति पौडेलको भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।