काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उनलाई विजयी बनाउन सबैलाई आह्वान गरेका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले नेता पौडेलले नेपाली राजनीतिमा गरेको योगदानका बारेमा सबैलाई अवगत रहेको उल्लेख गरे । सभापति देउवाले भने, “नेता पौडेल राजनीतिमा दुःख गरेका सिनियर साथी हुनुहुन्छ, उहाँ लोकतन्त्रको खिलापमा आफू कहिल्यै पनि जानुहुन्न र अरुलाई पनि जान दिनुहुन्न ।”
नेता पौडेल सिद्धान्त र आदर्शको राजनीति गरेका नेता भएको र लोकतन्त्रको संवर्द्धन र राजनीतिक स्थायित्वमा उनको ठूलो योगदान रहेको बताउँदै सभापति देउवाले नेता पौडेललाई राष्ट्रपतिमा अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरे ।