दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल खसेर नदीमा डुबेको हो ।
प्रारम्भिक विवरण अनुसार गाडीमा चालकसहित पाँच जना सवार थिए । गाडी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी हुन् । घटनास्थलमा तत्कालै सुरक्षाकर्मी र स्थानीयबासी उद्धारमा खटिएका छन् । अहिलेसम्म घटनास्थलबाट एक जना पुरुष यात्रुलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको छ । नदीमा डुबेको गाडी र अन्य बेपत्ता यात्रुहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ । घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया