images

अर्घाखाँची समाज जापानद्वारा नेपाली नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम आयोजना हुने

टोकियो । अर्घाखाँची समाज जापानको पहिलो कार्यसमिति बैठकले नेपाली नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। बैठकले वार्षिक कार्ययोजना प्रस्तुत गर्दै आगामी अप्रिल १२ तारिख नेपाली कलाकारहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तय गरेको हो।

समाजका गतिविधिहरूलाई प्रभावकारी बनाउन ६ वटा विभाग गठन गरी जिम्मेवारी तोकिएको समाजका महासचिव अविनाश जिसीले जानकारी दिए। गठन गरिएका विभागहरूमा सदस्यता वितरण तथा अभिलेखीकरण विभाग, प्रचार–प्रसार तथा प्रकाशन विभाग, क्षेत्रीय समिति समन्वय तथा विस्तार विभाग, महिला विभाग, आर्थिक विभाग तथा युवा तथा विद्यार्थी विभाग रहेका छन्।

त्यसैगरी अर्घाखाँची जिल्लाको अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको समाजका अध्यक्ष टोपबहादुर घर्ती मगरले बताए । विगतका कार्यक्रमहरूको निरन्तरता दिँदै रक्तदान कार्यक्रम, तीज कार्यक्रम, देउसी–भैलो, अक्षयकोष वृद्धि तथा आर्थिक समन्वय समितिलाई थप व्यवस्थित बनाइने अध्यक्ष मगरले जानकारी दिए।

अक्षयकोष वृद्धिका लागि हाल कायम ९४ जना आजीवन सदस्यको संख्या एक वर्षभित्र १५० पुर्‍याउने लक्ष्य रहेको समाजका कोषाध्यक्ष निरञ्जन खड्काले जानकारी दिए। त्यसैगरी समाजको पहिलो बैठकले सल्लाहकार समितिमा सोम थापा र मनीष खनाललाई मनोनयन गरेको छ।

मङ्गलबार २० माघ २०८२ ०३:५३ PM मा प्रकाशित

प्रतिक्रिया