images

नेपाल–जापान पत्रकार बीच संवादः प्रविधि, चुनौती र सहकार्यबारे गहन छलफल

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको समन्वयमा जापानी सञ्चारकर्मी र महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा बीच अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघकी अध्यक्ष शर्मा जापान भ्रमणका क्रममा कार्यक्रमकी प्रमुख अतिथि भएर सहभागी हुनु भएको थियो।

कार्यक्रममा जापानमा क्रियाशील नेपाली पत्रकार तथा जापानी सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त अवसरमा अध्यक्ष शर्माले नेपाली पत्रकारिताको वर्तमान अवस्था, विद्यमान चुनौतीहरू र बदलिंदो विश्व परिवेशमा पत्रकारिताको भूमिकाबारे विचार व्यक्त गर्नुभयो। उहाँले अन्तर्राष्ट्रिय अनुभव र आधुनिक प्रविधिको प्रभावकारी प्रयोगले नेपाली पत्रकारिता अझै सक्षम, जिम्मेवारीपूर्ण र दिगो बन्ने विश्वास व्यक्त गर्नुभयो।

महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले जापानी पत्रकारिताको अनुशासन, कार्यशैली, तथ्य–पुष्टिकरण प्रक्रिया तथा सकारात्मक व्यावसायिक दृष्टिकोण नेपालका पत्रकारका लागि अनुकरणीय भएको बताउनुभयो।

त्यसैगरी पत्रकार मिसा हिगुची, हिरोखाजु मुरोहाशी र चिका फुकाबोरीले पत्रकारितामा तीव्र रूपमा विकसित हुँदै गएको कृत्रिम बुद्धिमत्ता (AI) ले ल्याएका अवसर र चुनौतीबारे विश्लेषण प्रस्तुत गरे। उनीहरूले नेपालमा प्रेस स्वतन्त्रता, सरकारी नियमन, र पत्रकारहरूको पारिश्रमिक संरचना सम्बन्धी विषयमा थप जानकारीसमेत लिएका थिए।

नेपाल र जापानका पत्रकारबीच भएको यस संवादले दुवै मुलुकका सञ्चार क्षेत्रमा पेशागत अनुभव, प्रविधिगत विकास तथा सहकार्य विस्तारका नयाँ सम्भावनाहरू खुला गरेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’, उपाध्यक्ष मनिषा चम्लागाई र लक्ष्मी पौडेल, सचिव अर्जुन लामिछाने, सदस्य भवानी भट्ट, दुर्गा आचार्य, दिनेश थापा, निवर्तमान अध्यक्ष शान्त कुमार पहरी, निवर्तमान उपाध्यक्ष इन्दिरा खनाल, पत्रकार गणेश खानिया, जीवन सुवेदी लगायतको उपस्थिति थियो।

शनिबार २० मंसिर २०८२ ०८:५६ AM मा प्रकाशित

प्रतिक्रिया