टोकियो। जापानको राजधानी टोकियोस्थित विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य ओदाइबामा आगामी जुलाई १८, १९ र २० गते तीन दिनसम्म १५औँ नेपाल फेस्टिभल आयोजना हुने भएको छ।
नेपाल राजदूतावास जापान, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा हुने फेस्टिभल यसअघिका संस्करणभन्दा अझ भव्य, फरक र ऐतिहासिक हुने आयोजकले जनाएको छ। जापानको प्रमुख पर्यटकीय केन्द्रका रूपमा परिचित ओदाइबामा आयोजना हुने फेस्टिभलमार्फत जापानी नागरिक, विदेशी पर्यटक तथा जापानमा बसोबास गर्ने नेपाली समुदायले नेपाली कला, संस्कृति, मौलिक परिकार, संगीत र पहिचानलाई नजिकबाट अनुभव गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
विगतमा दुई दिनसम्म सञ्चालन हुँदै आएको नेपाल फेस्टिभल यस वर्ष पहिलो पटक लगातार तीन दिन सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार १५औँ संस्करणसम्म आइपुग्दा फेस्टिभलले जापानमा नेपाली समुदायको एकता, निरन्तरता र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। यस वर्ष पहिलो पटक पाँच नेपाली ब्रान्डले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शनी गर्ने तयारी गरेका छन्। यसबाट नेपाली उत्पादन, उद्यमशीलता र व्यवसायलाई जापानी तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने अवसर सिर्जना हुने आयोजकको भनाइ छ।
फेस्टिभलको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायक अर्जुन सापकोटा र चर्चित लोकदोहोरी गायिका शान्ता रानी परियारको सांगीतिक प्रस्तुति रहनेछ। साथै मोमो, सेलरोटी लगायत नेपाली परिकारका स्टल, विभिन्न जातीय झाँकी, बाजागाजा तथा गुरुङ, मगरसहित विभिन्न समुदायका मौलिक नृत्य र सांस्कृतिक प्रस्तुतिले फेस्टिभललाई नेपालीपनले भरिपूर्ण बनाउने तयारी गरिएको छ।
आयोजकका अनुसार जापानी कलाकार तथा सांस्कृतिक समूहहरूको पनि विशेष सहभागिता रहनेछ। यसले नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।
फेस्टिभललाई केवल सांस्कृतिक कार्यक्रमका रूपमा सीमित नराखी नेपाल–जापानबीच व्यापार, पर्यटन र लगानी प्रवर्द्धनको साझा मञ्चका रूपमा समेत विकास गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा नेपाली तथा जापानी व्यवसायीबीच व्यापार, पर्यटन, लगानी र व्यावसायिक नेटवर्क विस्तारका सम्भावनाबारे छलफल तथा सम्पर्क विस्तार गर्ने अवसरसमेत उपलब्ध हुने जनाइएको छ।
जापानमा जन्मिएका वा हुर्किएका नेपाली मूलका बालबालिका तथा जापानी बालबालिकालाई नेपाली भाषा, संस्कृति, परम्परा र खेलसँग परिचित गराउने विशेष गतिविधिहरू पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।
नेपाल राजदूतावास जापान, एनआरएनए जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनाले कार्यक्रमलाई अझ समावेशी र प्रतिनिधिमूलक बनाएको आयोजकको भनाइ छ। साथै जापानी कम्पनीहरू तथा स्थानीय निकायको सहकार्यले फेस्टिभललाई अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
फेस्टिभलबाट संकलित रकम चिबामा निर्माणाधीन नेपाल हाउस परियोजनामा सहयोग गरिनेछ। करिब २ करोड जापानी येन लागत अनुमान गरिएको उक्त परियोजनाअन्तर्गत पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपका प्रतिरूप निर्माण गर्ने योजना रहेको छ। यसमार्फत नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदालाई जापानमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
ओदाइबामा पुग्ने हजारौँ विदेशी पर्यटकमाझ नेपालका हिमाल, लुम्बिनी, पशुपतिनाथ, साहसिक पर्यटन, सांस्कृतिक विविधता र नेपाली आतिथ्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा यस फेस्टिभललाई लिइएको छ।
आयोजकका अनुसार नेपाल फेस्टिभल कुनै एक संस्थाको कार्यक्रम मात्र नभई नेपाललाई विश्वसामु चिनाउने साझा अभियान हो। कला, संस्कृति, पर्यटन, व्यापार, लगानी तथा नेपाली पहिचानलाई एउटै मञ्चबाट प्रवर्द्धन गर्ने उद्देश्यसहित यस वर्षको १५औँ संस्करणलाई हालसम्मकै सबैभन्दा भव्य र ऐतिहासिक बनाउने तयारी अन्तिम चरणमा पुगेको छ।
प्रतिक्रिया