images

नवलपुर समाज जापान कान्साईको ‘तीज फेस्टिभल ओसाका २०२६’को सम्पूर्ण तयारी पूरा

ओसाका, जापान । नवलपुर समाज जापान कान्साईको आयोजनामा आगामी सेप्टेम्बर १२ गते शनिबार जापानको ओसाकामा आयोजना हुने ‘तीज फेस्टिभल ओसाका २०२६’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

नेपाली कला, संस्कृति र तीज पर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरू देवी घर्ती, रामजी खाँड, टीका सानु, कुलविर थापा र रविन देवकोटा लगायतको प्रस्तुति रहनेछ।

कार्यक्रम सेप्टेम्बर १२ गते साँझ ५ बजेबाट ओसाकास्थित आबेनो कुमिन सेन्टरमा सुरु हुनेछ। आयोजकका अनुसार कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारी तथा व्यवस्थापनका कामहरू पूरा भइसकेका छन्।

यस वर्षको कार्यक्रमलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोडिएको आयोजकले जनाएको छ। कार्यक्रमबाट खर्च कटाएर बचत हुने रकम भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि प्रदान गरिने नवलपुर समाज जापान कान्साईले जनाएको छ।

सानो सहयोग, ठूलो सहारा—बाढी–पहिरो पीडितका लागि जुटौँ सारा’ भन्ने सामाजिक सन्देशसहित आयोजना हुन लागेको कार्यक्रमले नेपाली समुदायलाई मनोरञ्जनसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

कार्यक्रमको प्रवेश टिकट २ हजार येन तोकिएको छ। आयोजकले जापानमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई तीज पर्वको सांस्कृतिक उत्सवमा सहभागी हुन तथा बाढीपीडितका लागि सहयोग जुटाउने अभियानमा साथ दिन आग्रह गरेको छ।

मङ्गलबार २३ भदौ २०८३ १०:०३ PM मा प्रकाशित

प्रतिक्रिया