images

एक मुठ्ठी बादल’ नेपालमा जेठ १ मा प्रदर्शनमा आउने

काठमाडौँ । नेपाली फिचर फिल्म एक मुठी बादलः माई सेयर अफ स्काईले आउँदो वर्षको जेठ १ मा प्रदर्शन हुने भएको छ । निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो।चलचित्रका सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने चलचित्रले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गर्नेछ ।चलचित्रमा सहारा शर्माको लेखन तथा निर्देशन रहेको छ । अमेरिकाको न्युयोर्क बस्दै आएकी सहाराले यसअघि चेजिङ रेन्बोज शीर्षकको चलचित्र निर्देशन गरेकी थिइन् जुन चलचित्र २०१३ मा भएको काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको ओपनिङ चलचित्र थियो । फिक्सन फिचरका साथ महोत्सवको उद्घाटन गर्ने सबैभन्दा कान्छी महिला निर्देशक बनेकी सहाराले यही महोत्सवको नेपाली पनोरोमा तर्फको शीर्ष पुरस्कार पनि जितेकी थिइन् ।एक मुठी बादलले पनि थुप्रै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ ।

सोमबार २५ फागुन २०८२ ११:२५ AM मा प्रकाशित

प्रतिक्रिया