images

‘बुलाकी’ युनिटको नौलो प्रचार शैली, दर्शक तान्न टोल टोलमा कार्यक्रम

काठमाडौं । यही साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ निर्माण टिम यतिबेला प्रचारमा जुटेको छ । मिडिया तथा सोसियल मिडियाबाट दर्शकलाई फिल्मको विषयवस्तु जानकारी गराउँदै हलमा तान्न प्रयत्नरत टिम यतिबेला सिधा दर्शकसँगै पुगेर साक्षात्कार गरिरहेको छ । नौलो र भिन्न प्रचारशैली पछ्याउँदै ‘बुलाकी’ युनिट यतिबेला राजधानीका विभिन्न स्थानमा पुगेर सडक नाटक, नृत्य तथा गायन प्रस्तुती दिइरहेको छ । जहाँ स्थानीय दर्शकले बलियो साथ दिएका छन् । फिल्मले उठान गरेको कथावस्तु र प्रदर्शन मिति जानकारी गराउँदै दर्शक आकर्षण गर्न टोल टोलमा पुगेको निर्माता तथा कलाकार विराज विष्टले बताए । विहीबार ललितपुरको लगनखेलमा फिल्म टिम पुगेर प्रस्तुती दिँदा सयौं दर्शकले साथ दिएका थिए । व्यवसायिक थिएटर कलाकार तथा मोडलहरूसँगै गायक गायिकासहित फिल्मको प्रचार अभियानलाई अघि बढाइएको छ । नारीप्रधान भनिएको फिल्मको कथावस्तुको परिधिमा रहेर जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको विष्टले बताए । शुक्रबारबाट अभिनेत्री सुरक्षा पन्त टिमसँग जोडिँदै छिन् । रिलिज मिति नजिकिँदै गर्दा खराब मौसमको बाबजुत फिल्म प्रचार अभियानलाई निरन्तर अघि बढाइरहेको निर्माण टिमले बताएको छ । यो क्रम फिल्म रिलिजको अघिल्लो दिनसम्म चल्ने र काठमाडौंका मात्रै (डेढ दर्जन)१८ ठाउँमा प्रस्तुति दिइने विष्ट बताउँछन् । ‘मुख्यतः मानिसहरूको बाक्लो भिडभाड हुने बसपार्क एरिया, विभिन्न पार्क, शान्तिवाटिका, भृकुटीमण्डप, विभिन्न सपिङ मल, खुल्ला मञ्च, बसन्तपुर, पाटनलगायतका ठाउँमा कलाकारसहित सिधा दर्शकसँग साक्षात गर्न पुग्न लागेको निर्देशक लक्ष्मण सुनारले बताए । पश्चिम नेपालमा विद्धमान जारी प्रथाको कथा उठान गरेको फिल्मलाई निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टले नेपाली मौलिक फिल्म भन्दै आएको छ । नेपाल सरकारबाट विशेष फिल्मको अवार्ड प्राप्त गरिसकेको यो फिल्मले समग्र नेपालको संस्कृति र रितिरिवाजको प्रतिनिधित्व गर्ने सुनार बताउँछन् । फिल्ममा अभिनेत्री सुरक्षा पन्तसँगै अभिनेताद्वय नरेन खड्का र विराज विष्ट र नव अभिनेत्री सरस्वती खत्री प्रमुख अभिनयमा छन् । साथमा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, विनयराज पौडेल लगायतका कलाकारलाई समेत फिल्मको अभिनयमा देख्न सकिनेछ । यसै साता सार्वजनिक फिल्मको दोस्रो ट्रेलर र त्यो पहिले सार्वजनिक गीतले पाएको सुखद प्रतिक्रियाले निर्माण टिम उत्साहित छ । हालै यो फिल्मको अष्ट्रेलिया, यूरोप र यूके प्रदर्शन अधिकार समेत बिक्री भइसकेको छ भने अन्य देशमा समेत फिल्मको प्रदर्शनको लागि कुरा अघि बढिरहेको बताइएको छ ।
 

शुक्रबार​ २५ साउन २०८१ ०१:४१ PM मा प्रकाशित

प्रतिक्रिया