काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितहरूको सहयोगार्थ जापानी कम्पनी डिस्कभरी सपोर्ट कम्पनी लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आज अर्थ मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रममा उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। ग्लोबल आईएमई बैंकको चेकमार्फत १० लाख रुपैयाँ सहयोग गरिएको कम्पनीले जनाएको छ।
नेपाली समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको डिस्कभरी सपोर्टले विपद्को समयमा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। डिस्कभरी सपोर्ट कम्पनीका प्रमुख जापानी नागरिक मासुई सोता नेपाली समुदायप्रति उदार भावना राख्ने व्यवसायीका रूपमा चिनिँदै आएका छन्। उनले जापानमा रहेका नेपाली समुदायका विभिन्न सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमा निरन्तर आर्थिक तथा अन्य सहयोग गर्दै आएका छन्।
गत वर्ष मात्रै डिस्कभरी सपोर्टले एभरेस्ट फेस्टिभल, दशैं फेस्टिभल तथा चर्चित नेपाली ब्यान्ड नेपथ्यको जापान कन्सर्ट लगायतका कार्यक्रमलाई सहयोग गरेको थियो। नेपालमा होटल तथा रेष्टुरेन्ट व्यवसायसमेत सञ्चालन गर्दै आएको डिस्कभरी सपोर्टले जापानमा रहेका नेपाली समुदायका विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमा पनि निरन्तर सहकार्य गर्दै आएको छ। नेपाल र जापान दुवै देशमा व्यवसाय गर्दै आएका मासुई सोताले नेपाली समुदायसँगको सम्बन्धलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सामाजिक तथा सांस्कृतिक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
जापानी नागरिक तथा व्यवसायीबाट नेपाली समुदाय र विपद्का समयमा पीडितहरूका लागि प्राप्त यस्तो सहयोगले नेपाल–जापानबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया