images

शहीद गौचनको नवौं स्मृति दिवसको अवसरमा महासंघमा श्रद्धाञ्जली सभा, देशभर विविध कार्यक्रम

असोज २३, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनको नवौं स्मृति दिवसको अवसरमा शुक्रवार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरियो । सभामा वक्ताहरुले नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गर्नु भएको महत्वपूर्ण भूमिकाको स्मरण गरेका थिए । विगतमा संघको रुपमा रहेको नेपाल निर्माण व्यवसायी संघलाई महासंघमा रुपान्तरण गर्न गौचनले दिएको योगदान प्रशंसनीय भएको वक्ताहरुको भनाइ थियो । शोक सभालाई सम्बोधन गर्ने क्रममा महासंघका अध्यक्ष निकोलस पाण्डेले ‘एभरेज बिडिङ’ लागू गरी पूर्वाधार क्षेत्रलाई व्यवस्थित एवं मर्यादित बनाउने गौचनको सपनालाई वर्तमान कार्य समितिले साकार पारेको जानकारी गराउनुभयो । सभाका प्रमुख अतिथि महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार जयराम लामिछानेले लो बिडलाई निरुत्साहित गर्नुपर्ने गौचनको धारणालाई महांसंघको वर्तमान कार्र्य समितिले मूर्त रुप दिएको   बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ ले गौचनले निर्माण क्षेत्रमा लगाएको गुनलाई कसैले बिर्सन नसक्ने बताउनुभयो ।  महासंघका महासचिव शिवहरि घिमिरेले शहीद गौचनको संक्षिप्त जीवनी सहित निर्माण उद्योगको विकास विस्तारमा उहाँको योगदानको चर्चा गर्नुभयो । महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाहीले गौचन सबै निर्माण व्यवसायीहरुको सच्चा अभिभावक भएको बताउनुभयो । सो अवसरमा गौचनको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो । श्रद्धाञ्जली सभा अगाडि महासंघ परिसरमा रहेको स्वर्गिय गौचनको अर्धकदको शालिकमा महासंघका अध्यक्ष निकोलस पाण्डे, गौचनकी श्रीमती आशा गौचन, महासंघका सल्लाहकारहरू, पूर्वअध्यक्षहरू तथा पदाधिकारीहरु, कार्य समिति सदस्यहरु लगायतले मार्ल्यापण गरेका थिए । गौचनको नवौं स्मृति दिवसको अवसरमा आज सातै प्रदेश निर्माण व्यवसायी महासंघ तथा ७७ जिल्ला निर्माण व्यवसायी संघहरुमा पनि विविध कार्यक्रम गरिएको छ । गौचनको २०७४ साल असोज २३ गते शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा उहाँको निवास नजिकै गोली हाली हत्या गरिएको थियो ।

शुक्रबार​ २३ असोज २०८३ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया