काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १८० सदस्यीय मूल आयोजक समिति घोषणा भएको छ ।आइतबार भएको आरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३–५ तारिखमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा शेष घलेको संयोजकत्वमा नेपाल सरकारका २ जना प्रतिनिधिसहित १८० सदस्यीय मूल आयोजक समिति बनाइएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए ।
सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार समितिका संयोजक घलेले एकताको महाधिवेशन गराउन प्रक्रिया अघि बढाएका हुन् ।तर, बद्री केसी समूहले भने घले नेतृत्वको समितिलाई असहयोग गर्दै आएका छन् ।तर, घलेले कानुनविद्हरूका साथै विश्वभरका सरोकारवालासँग छलफलका आधारमा महाधिवेशन गराइछाड्ने भन्दै प्रक्रिया अघि बढाएका हुन् ।सर्वोच्चको परमादेशअनुसार गठन भएको घले नेतृत्वको उच्चस्तरीय समितिमा उपेन्द्र महतो, देवमान हिराचन, राम प्रताप थापा, जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, विनोद कुँवर, कुल आचार्य, रविना थापा, जानकी गुरुङ, उमेश कुमार पुडासैनी र बद्री केसी समेत छन् । तर, केसी हालसम्म समितिको बैठकमा सहभागी भने भएका छैनन् । यस्तै सहजीकरणको लागि नेपाल सरकारको प्रतिनिधिको रूपमा अरुणा जोशी र पुष्कर नेपालसमेत सदस्य रहेको कुँवरले बताए ।उनीहरू स्वतः मूल आयोजक समितिमा रहेका छन् । यस्तै एसिया प्रशान्त क्षेत्र, अमेरिकाज क्षेत्र, युरोप क्षेत्र, मध्यपूर्व क्षेत्र, अफ्रिका क्षेत्रबाट प्रतिनिधित्व रहने गरी मूल आयोजक समिति बनाइएको छ । यसैगरी यसअघि नै कार्यविधि बनाइसकेको समितिले विभिन्न उपसमिति पनि गठन गरेको छ । जसअनुसार राष्ट्रिय समन्वय परिषद् महाधिवेशन सहजीकरण उपसमितिको संयोजकमा विनोद कुँवर तथा सदस्य सचिवमा लोक दाहाल रहेका छन् ।
प्रतिक्रिया