काठमाण्डौँ - साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ ।
ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको छ । बंगलादेश भने अपराजित रहँदै च्याम्पियन बनेको छ । बंगलादेशको जीतमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक–एक गोल गरे । खेलको ४२ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफको इञ्जुरी समयमा शामसुनाहरले गोल गर्दै बंगलादेशको अग्रता २–० बनाइन् । त्यसपछि खेलको ८७ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशको जीत पक्का गरिन् । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।