काठमाडौं । बडादसैँको शुभअवसरमा अरुणिमा शैक्षिक प्रतिष्ठानले अन्तर–अरुणिमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतिष्ठान अन्तर्गतका नव अरुणिमा माध्यमिक विद्यालय(आरुबारी), अरुणिमा शिक्षा सदन माध्यमिक विद्यालय (महाङ्काल) र अरुणिमा माध्यमिक विद्यालय (बौद्ध)मा अध्ययनरत विद्यार्थीहरूबीच रचनात्मक प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजित प्रतियोगतामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय सञ्चिता कटवाल र शमशेर आलमले गरेका थिए भने यासिका गिरीले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् । कक्षा १–३, कक्षा ४–६ र कक्षा ७–९ गरी तीन तहमा सहभागी गराइएको प्रतियोगितामा तीनवटा विद्यालयबाट एक सयभन्दा बढी प्रतियोगीहरूले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगीहरूबिच उच्च स्तरको प्रतिस्पर्धा भएको प्रतियोगितामा एकल नृत्यतर्फ कक्षा १–३ समूहबाट नव अरुणिमा मा. वि., अरुणिमा शिक्षा सदन मा.वि. र अरुणिमा मा. वि.क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए । कक्षा ४–६ समूहबाट नव अरुणिमा मा. वि., अरुणिमा मा. वि. र अरुणिमा शिक्षा सदन मा.वि.क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने कक्षा ७–९ समूहबाट नव अरुणिमा मा. वि., अरुणिमा मा. वि. र अरुणिमा शिक्षा सदन मा.वि.क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए । सामूहिक नृत्यतर्फ कक्षा १–३ समूहबाट नव अरुणिमा मा.वि.प्रथम एवम् अरुणिमा मा. वि.र अरुणिमा शिक्षा सदन मा.वि.द्वितीय हुन सफल भए । कक्षा ४–६ समूहबाट अरुणिमा शिक्षा सदन मा.वि, अरुणिमा मा. वि. एवम् नव अरुणिमा मा.वि.ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । साथै कक्षा ७–९ समूहबाट नव अरुणिमा मा. वि., अरुणिमा मा. वि. र अरुणिमा शिक्षा सदन मा.वि.ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता निकै सफल रहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष भीमानन्द ढुङ्गानाले कार्यक्रमको समीक्षासहित सम्पूर्ण सहभागी विद्यार्थीहरूको प्रतिभाको तारिफ गर्दै नृत्य कार्यव्रmमले नेपाली संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । विजयी प्रतियोगीहरूलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया