काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोप्रति यस प्रदेश महासंघ प्रदेश सरकार, नेपाल सरकार, संहित सम्वन्धित सबै निकायहरुको गम्भीर ध्यानाकर्षण गराउँदछ । इन्धनजन्य सामाग्रीहरू सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने विट्मिन, सिमेण्ट, डण्डी लगायतका निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्याधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ। यस वाहेक देशका विभिन्न ठाउंमा क्रसर उद्योगमा देखिएको समस्याले निर्माण उद्योग थप आक्रान्त भएको छ। निर्माण उद्योगको यस्तो अत्यन्त विषम परिस्थितिका विषयमा केन्द्रीय महासंघ, प्रदेश महासंघले बारम्वार प्रदेश सरकार, नेपाल सरकार लगायतका निकायहरूमा पत्राचार गरेता पनि समस्या समाधान हुने गरी अहिलेसम्म केही कार्यान्वयन नभएको व्यहोरा अवगत गराउँदछौं । ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले वजारमा निर्माण सामाग्रीहरूको अत्याधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको अतः निर्माण कार्य तीव्र रुपमा हुने समयमै इन्धन सामग्रीहरू सहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेका अत्याधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा 'आपतकाल' घोषणा गरी व्यवसायीहरूलाई अविलम्व राहत दिन यस प्रदेश महासंघ जोडदार माग गर्दछ । साथै प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप हालको कानूनी व्यवस्थावाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका-२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समस्या तुरुन्त सम्बोधन गर्न यस प्रदेश महासंघ प्रदेश सरकार, नेपाल सरकार प्रती प्रेस विज्ञप्ति मार्फत अपिल गरेकाे छ । 
प्रतिक्रिया