काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशव्यापी रूपमा परिचालन गरिएपछि विभिन्न स्थानहरूमा विध्वंसात्मक र अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।सरकारी स्रोतका अनुसार, भदौ २४ गते राति १० बजेदेखि देशभर सुरक्षा व्यवस्था कडा बनाइएपछि भोलिपल्ट बिहान १० बजेसम्म काठमाडौंसहित विभिन्न स्थानहरूमा लुटपाट, आगजनी र जीउधनको क्षति पु¥याउने मनसायले गरिएको हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।सुरक्षाकर्मीहरूले काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न समूहबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरेका छन् ।यस्तै, काठमाडौंका विभिन्न स्थानहरूबाट २३ थान हतियार तथा पोखराबाट ८ थान हतियार बरामद गरिएका छन् । यसरी बरामद गरिएका हतियारहरूको सङ्ख्या ३१ नाल पुगेको छ, जसमा म्यागजिन र गोलीगठ्ठा समेत रहेका छन् ।साथै, तीनवटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रणको प्रयास जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।हिंसात्मक घटनामा २३ जना नेपाल प्रहरीका सदस्यहरू घाइते भएका छन् भने तीनजना सर्वसाधारण पनि घाइते भएका छन् । उनीहरूको नेपाली सेनाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको जनाउँदै शान्ति सुरक्षा कायम राख्न आम नागरिकलाई संयमता अपनाउन आह्वान गरेको छ ।
प्रतिक्रिया