images

इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम

इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सातजना विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दशजना नेपाली विद्यार्थी मारिएपछि मंगलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् । सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले भने, ‘प्यालिस्टेनी हमास समूहले आक्रमणमा परेर नेपाली ती विद्यार्थीको ज्यान गएको दुःखद खबरले विश्वविद्यालय परिवार शोकमा डुबेको छ । यो घटनाले विश्वविद्यालय परिवार मात्रै होइन, सिंगो शैक्षिक क्षेत्र र राष्ट्रियस्तरमै अपूरणीय क्षति पुगेको छ ।’ उनकाअनुसार विद्यार्थी मारिएको शोकमा विश्वविद्यालय मातहतका निकायमा शोकसभा आयोजना भइरहेको छ । कैलालीको घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका-११ का गणेशकुमार नेपाली, बौनिया-३ कैलालीका आशीष चौधरी, लेकम-४ दार्चुलाका दीपेशराज विष्ट, डोटीका राजन फुलारा, पदम थापा र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्रसिंह धामीको आक्रमणमा परी निधन भएको छ । सो विश्वविद्यालयले पहिलो पटक इजरायली राजदूतावासको समन्वयमा त्यहाँको सेडट नेगेभ कलेजसँगको सम्झौतामा विद्यार्थीहरू ११ महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि गत भदौ २५ गते १५ जना र २६ गते ३४ जना  गरेर ४९ जना नेपाली विद्यार्थी इजरायल पठाएको थियो । विद्यार्थीले कृषि सीप सिक्नुका साथै केही आम्दानी गर्ने उद्देश्यले विश्वविद्यालयलले प्रयोगात्मक अभ्यासका लागि त्यहाँ पठाएको थियाे ।

मङ्गलबार २३ असोज २०८० ०२:३२ PM मा प्रकाशित

प्रतिक्रिया