images

नीता राउत फाउण्डेशनद्वारा दोलखामा न्यानो कपडा वितरण

 

दोलखा ।  नीता राउत फाउण्डेशनले दोलखाको गौरीशङ्कर गाउँपालिका–५ सुरीस्थित बिष्णुश्वरी प्राथमिक विद्यालयका १७ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। वडा अध्यक्ष सुन्दर खड्का र फाउण्डेशनकी अध्यक्ष नीता राउतले संयुक्त रूपमा विद्यालयका बालबालिकालाई स्वीटर र टोपी हस्तान्तरण गरेका हुन्। विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर खत्रीका अनुसार कक्षा १ देखि ५ सम्म अध्ययनरत १७ जना विद्यार्थीमध्ये ७ जना सुरेल समुदायका बालबालिका रहेका छन्।

फाउण्डेशनकी अध्यक्ष राउतका अनुसार संस्थाले सन् २०७४ सालमा जिल्ला प्रशासन कार्यालय दोलखामा दर्ता भई सामाजिक सेवामा सक्रिय रूपमा कार्य गर्दै आएको छ। उनले आफ्नै पारिश्रमिकबाट हरेक महिना निश्चित रकम बचत गरी त्यसबाट बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने, वृद्ध–वृद्धाहरूलाई न्यानो कपडा वितरण गर्ने तथा विपद्को समयमा राहत प्रदान गर्दै आएको बताइन्।

फाउण्डेशनले हालसम्म १,००० भन्दा बढी बालबालिकालाई विद्यालयका झोला, पोसाक र स्टेशनरी सामग्री, साथै २०० भन्दा बढी वृद्ध–वृद्धाहरूलाई न्यानो कपडा वितरण गरिसकेको छ। त्यस्तै, प्राकृतिक विपत्ति तथा कोभिड–१९ महामारीका बेला करिब १०० घरपरिवारलाई खाद्यान्न र राहत सामग्री प्रदान गरिएको पनि राउतले जानकारी दिइन्।

समाजमा शिक्षा, मानवीयता र सहयोगको भावना फैलाउँदै सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ फाउण्डेशनले ग्रामीण भेगका विद्यालय र समुदायमा निरन्तर सेवा पुर्‍याउँदै आएको छ।

सोमबार २४ कात्तिक २०८२ ०९:४७ AM मा प्रकाशित

प्रतिक्रिया