भीमेश्वर–५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५०१ जनाले पाए उपचार 

दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजना तथा सुमेरु सिटी अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क औषधि वितरणसहितको स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमार्फत ५०१ जना स्थानीय बासिन्दाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्।  

शिविरमा जनरल फिजिसियन सेवा २०५ जनाले लिएका थिए भने नसा तथा हाड–जोर्नीसम्बन्धी समस्या भएका बिरामीहरूको समेत उपचार गरिएको थियो। त्यस्तै, स्त्रीरोग सेवा १८५ जना महिलाले लिएकोमा ४ जनाको जटिल खालको समस्या देखीएकोले सुमेरुसिटी अस्पताल र वडा नम्बर ५ को सहयोगमा थप उपचारको लागि काठमाडौं लगेर उपचार गरिने वडा अध्यक्ष बासु श्रेष्ठले जानकारी दिनु भयो। 

मृगौला तथा पिसाबसम्बन्धी समस्या, नाक–कान–घाँटी सेवा ५५ जनाले लिए भने जाँच सेवाअन्तर्गत भिडियो एक्स–रे १८७ जनाको गरिएको थियो,  पिसाब परीक्षण प्रोटिन र सुगर जाँच २४५ जनाको गरिएको जानकारी दिइएको छ।

विशेषगरी ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता रहेको उक्त शिविरमा विभिन्न रोगसम्बन्धी परीक्षण, परामर्श तथा आवश्यक औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो। शिविर स्थलसम्म आवत–जावतको समेत उचित व्यवस्था मिलाइएकाले स्थानीय नागरिकहरूलाई स्वास्थ्य परीक्षण गर्न सहज वातावरण सिर्जना भएको सहभागीहरूले बताएका छन्।

शिविर उदघाटन कार्यक्रममा भिमेश्वर नगर पालिकाका मेयर इश्वर मानन्धर, उपमेयर कमला बस्नेत लगाएतका समाज सेवी तथा प्रतिनिधी, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतको सहभागिता रहेको थियो ।


 यस प्रकारको सुविधाले स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका ज्येष्ठ नागरिकहरूलाई विशेष लाभ पुगेको जनाइएको छ। वडाध्यक्ष बासु श्रेष्ठसहित वडा कार्यालयका सम्पूर्ण टिमको सक्रिय सहभागिता र व्यवस्थापनमा शिविर सम्पन्न भएको हो। आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता जनहितकारी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइनेछ।