नक्कली बिजुली बिल बनाइ ३३ लाख असुल, अधिकृतविरुद्ध विशेषमा मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतको नक्कली बिल बनाइ व्यावसायीसँग रकम असुल्ने गरेको आरोपमा एक अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेजनारायण साहले ३३ लाख २० हजार रकम हिनामिना गरेको आरोपमा सोमबार विशेषमा आरोपपत्र दायर गरेको हो।

उनीविरुद्ध प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरूसँग  बिजुलीको महशुल संकलन गरी हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। विभिन्न व्यवसायीहरुबाट विद्युत महशुलवापतको रकम रु ३३ लाख बीस हजार दुई सय छब्बीस रुपैयाँ उठाई विद्युत महशुल सम्बन्धि सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरेको आरोप उनीमाथि छ।

उनले उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप अख्तियारको रहेको छ। सोही रकम बराबर बिगो दाबी गरी अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाही गर्न माग अख्तियारले गरेको छ।