images

महामारीबाट मरेका पशुको पनि क्षतिपूर्ति दिनुपर्छ : बासुदेव घिमिरे

काठमाडौं । राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले महामारीका कारण मरेका पशु चौपायाका धनीलाई राहत र क्षतिपूर्तिको स्पष्ट व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभामा बुधबार ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विधेयक सकारात्मक रहे पनि केही व्यावहारिक र महत्वपूर्ण पक्षहरू छुट्न पुगेको उल्लेख गरे । 

नेपालमा ८० प्रतिशतभन्दा बढी जनसंख्या पशुपालनमा आधारित रहेको र यसलाई आर्थिक आयआर्जनको प्रमुख स्रोत बनाएको सन्दर्भ जोड्दै घिमिरेले यस क्षेत्रको सुरक्षाका लागि कडा र स्पष्ट कानुनी व्यवस्था अपरिहार्य रहेको बताए । विधेयकमा सङ्क्रमण फैलिन नदिन रोगग्रस्त पशु नष्ट गरिएमा क्षतिपूर्ति दिने प्रावधान भए पनि महामारीका कारण आफैं मरेका पशुका हकमा राहतको कुनै व्यवस्था नभएकाले त्यसलाई थप गरिनुपर्ने उनको सुझाव थियो । 

यसैगरी, रोग लागिसकेपछि नियन्त्रण गर्नुभन्दा रोग लाग्नै नदिने ‘जैविक सुरक्षा’ (बायो–सिक्योरिटी) का उपायहरूलाई प्रवद्र्धन र परिस्कृत गर्ने नीति विधेयकमा समावेश गरिनुपर्नेमा पनि जोड दिए । स्थलचर पशु र पँक्षीका अलावा माछा पालन तथा जङ्गली जनावरहरूमा फैलिने सङ्क्रामक रोग नियन्त्रण र परीक्षणका विषयमा पनि विधेयकले स्पष्ट दिशा निर्देश गर्नुपर्ने उनको भनाइ थियो ।

पशु रोग नियन्त्रणसम्बन्धी व्यवस्थाले किसानको जीविकोपार्जन र मुलुकको समग्र अर्थतन्त्रमै प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस विधेयकमाथि बुँदागत रूपमा गम्भीर छलफलको आवश्यकता रहेको सांसद घिमिरेले बताए । विधेयकलाई थप परिस्कृत, व्यवहारिक र सर्वस्वीकार्य बनाउन विधायन व्यवस्थापन समितिमा लगेर दफावार छलफल गराउन उनले अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण पनि गराए ।

बुधबार २७ साउन २०८३ ०६:०६ PM मा प्रकाशित

प्रतिक्रिया