भदौ २७, काठमाडौं । राजधानीको महाराजगञ्जस्थित निशान पोली क्लिनिक प्रा.लि.ले बाढी प्रभावितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी उद्धार कोषमा रु.चार लाख उपलब्ध गराएको छ । निशान पोली क्लिनिकमा कार्यरत चिकित्सक, कर्मचारी तथा व्यवस्थापन पक्षको तर्फबाट संकलित सहयोग रकम कोषमा जम्मा हुने गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । पोली क्लिनिकमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर मन बहादुर केसी, वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अनिलकुमार दास लगायतको विशेष व्यक्तिगत सहयोगमा कोषमा उक्त रकम जम्मा गरिएको हो । पोली क्लिनिकले तिज पर्वको अवसरमा क्लिनिकमा कार्यरत कर्मचारीहरुको लागि उपहार सहितको तिज विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । तर भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको महाविनाशकारी बाढीले ठूलो मानवीय एवं भौतिक क्षति गरे पश्चात उक्त कार्यक्रम रद्द गरी बाढी प्रभावितहरुलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो । रामेछापका राजनहरि दाहालले २०५१ सालमा स्थापना गर्नु भएको निशान फर्मालाई विशेषज्ञ चिकित्सकहरुको सेवा तथा अत्याधुनिक ल्याब सहित २०६८ मा निशान पोली क्लिनिकमा रुपान्तरण गरिएको हो । बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराई सामाजिक उत्तरदायित्व बोध गर्दै यसरी विपतमा परेका नागरिकलाई सहयोग गर्न पाउँदा संस्था नै गौरवान्वित भएको निशान पोली क्लिनिकका अध्यक्ष राजनहरि दाहालले बताउनुभयो ।
प्रतिक्रिया