images

ओभरलोड’ कडाईका साथ नियन्त्रण गर्न मन्त्री दाहालको निर्देशन

२९ पुष, २०८१, काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी साधनहरुमा अधिक भार बहनलाई कडाईका साथ नियन्त्रण गर्न निर्देशन दिनु भएको छ । मापदण्ड विपरीत तोकिएको भन्दा बढि भारका सवारी साधनहरुका कारण पूर्वाधारहरुमा क्षति हुने एवम् दुर्घटनाको समेत उच्च जोखिम रहने भएकाले कडाईका साथ नियन्त्रण गर्न निर्देशन दिनु भएको हो । 
सोमबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण टोलिसँगको छलफलका क्रममा उहाँले यातायात व्यवस्था विभागलाई अधिक भार बोकेका सवारी साधनहरुलाई कडाईका साथ नियन्त्रण गर्न निर्देशन दिनु भएको हो । ‘ओभरलोडका गाडीले सडक, पुल लगायतको संरचनामा जोखिम बढाई रहेका छन्’ मन्त्री दाहालले विभागलाई निर्देशन दिँदै भन्नुभयो, ‘तर यो संरचनामा क्षति पु¥याउने विषय मात्रै होईन अधिक भारकै कारण हुने दुर्घटनाले मानवीय क्षतिको जोखिम समेत बढाउने भएकाले यसलाई तुरुन्तै कडाईका साथ नियन्त्रण गर्नुहोला ।’
छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्माले क्षमता र मापदण्ड भन्दा बढि भार बोकेको पाईए बढि भएको भार खन्याएर मात्र गाडी छुटाउनु पर्ने बताउनुभयो । प्रहरी, प्रशासन तथा सम्वद्ध निकायहरुसँग समन्वय गरि ‘ओभरलोड’का सवारी साधन सञ्चालन हुने क्रम तुरुन्त रोक्न विभागलाई निर्देशन दिनुभयो । 
यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले मालबाहक सवारी साधनको भारबहन नियमन सम्वन्धि निर्देशिका, २०७४ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताउनु भएको छ । बढि भार भएका सवारी साधनलाई जरिवाना लिएर छोड्दा राजश्व संकलन भए पनि यसले बढि भार नियन्त्रणको लक्ष्य पूरा नभएको उहाँले बताउनुभयो । यस्तै विभाग मार्फत चितवन र महोत्तरीमा सञ्चालित तौलपुलको स्तरीकरणतर्फ पनि विभागले ध्यान दिएको उहाँको भनाई छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाले अधिक भार भए पनि जरिवाना तिरे पछि ढुवानी गर्न पाईहालिन्छ भन्ने मान्यताको अन्त्य गर्नु पर्ने बताउनुभयो । अधिकभार ढुवानी नियन्त्रणकै लागि महासंघले विभिन्न स्थानमा तौलपुल सञ्चालनमा ल्याएको भन्दै ति पुलहरुको डिजिटलाईजेसन समेत गरि पारदर्शी र व्यवस्थित पारिएको उहाँले जनाउनुभयो । 
पछिल्लो पटक दुम्किबासको पुल भाँचिए पछि अधिक भार नियन्त्रणको विषय पुनः बहसमा आएको छ । सडक विभागले सो पुल भाँचिनुको कारणबारे अध्ययनका लागि टोलि खटाई सकेको छ । सो टोलीले स्थलगत रुपमा समेत प्राविधिक अध्ययन गरेको छ । यस्तै अन्य पुलहरुको अवस्थाका बारेमा समेत अध्ययन् गरिने मन्त्रालयले जनाएको छ ।

सोमबार २९ पुस २०८१ ०५:५३ PM मा प्रकाशित

प्रतिक्रिया