images

देशभरका २९३ नगरपालिकामध्ये गोदावरी उत्कृष्ट

ललितपुर । नेपाल नगरपालिका संघले सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै गोदावरी नगरपालिका पुरस्कृत भएको छ । संघले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा गोदावरी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरेको हो । संघले अन्य ४ विधामा विभिन्न नगरपालिकालाई पनि पुरस्कृत गरेको छ ।
संघीय मामिला मन्त्री भानुभक्त जोशीले गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे । आर्थिक वर्ष २०७९÷०८० मा गोदावरी नगरपालिकामा भएको कामको मूल्याङकन गरी सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनको क्षेत्रमा नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो । 
२०७३ सालमा स्थापना भएको गोदावरी नगरपालिकाले गरेको कामको मुल्यांकन संविधानविद् काशीराज दाहालको संयोजकत्वमा गठित समितिले गरेको थियो । गत आइतबार गोदावरी नगरपालिकाले आफ्नो आठौँ स्थापना दिवस मनाएको थियो । 
स्थापनाको छोटो अवधिमा नै गोदावरी नगरपालिकाले पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य काम गरेको छ । यसैगरी नगरपालिकाले स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखरे काम गरेको छ । 
नगरपालिकाले आफ्नै स्रोतबाट कलात्मक ढंगबाट प्रशासनिक भवन निर्माण गर्नुका साथै इन्जिनियरिङ क्याम्पसको भवन निर्माण कार्य अन्तिम चरण पुगेको छ । यसैगरी सडक पूर्वाधार निर्माणपनि पालिकाको स्रोतसाधनले भ्याएसम्म उल्लेख्य काम गरेको छ  ।
नगरपालिकाभित्र राम्रो काम गर्न सहयोग गर्ने, हौसला दिने नगरभित्रका सम्पूर्ण नगरवासी, जनप्रतिनिधि र कर्मचारी लगायत सम्पूर्णको महत्वपूर्ण भूमिका रहेको भन्दै नगर प्रमुख गजेन्द्र महर्जनले सबैमा धन्यवादज्ञापन गर्दै कृतज्ञता व्यक्त गरे । 
नगरपालिकाले कला संस्कृति र पर्यापर्यटनमा पनि उल्लेख्य काम गरिरहेको बताउँदै गोदावरीलाई समुन्नत नगर बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी यस विधामा सुदुर पश्चिमको भीमदत्त नगरपालिका पनि सम्मानित भएको थियो । संस्थागत सुधार वित्तिय सुशासन कायम गर्ने नगरपालिकामा दाङको घोराही उपमहानगरपालिका सम्मानित भएको छ । 
स्थानीय आर्थिक विकासमा फड्को मारेकोमा रुपन्देहीको वुटवल नगरपालिका सम्मानित भएको छ । त्यसैगरी सामाजिक विकासको क्षेत्रको उत्कृष्ट कार्य गरेकोमा रौतहटको गौर नगरपालिकालाई सम्मानित गरिएको थियो । वन वातावरण जलवायु परिवर्तन र विपद् व्यवस्थापन न्यूनीकरण विधामा  उत्कृष्ट काम गरेका चितवनको रक्तनगर नगरपालिका र रुकुमको चौरजहाही नगरपालिका सम्मानित भएका छन् ।
 

बुधबार २९ फागुन २०८० ०८:४० AM मा प्रकाशित

प्रतिक्रिया