ओसाका, जापान । नेपाली चलचित्र ‘परान’ को विशेष प्रदर्शन आगामी डिसेम्बर २७ तारिख, शनिबार जापानको ओसाका सहरमा आयोजना हुने भएको छ। बिस्कोप सिनेमाको प्रस्तुति रहने उक्त चलचित्रको ओसाका प्रदर्शनको जिम्मेवारी युनाइटेड ब्रदर्सले लिएको छ भने द गोर्खाज एक्स सह–आयोजकका रूपमा रहेका छन्।
आयोजकका अनुसार चलचित्र ओसाकाको मिनातो सिभिक सेन्टर अन्तर्गत रहेको हलमा प्रदर्शन गरिनेछ, जुन बेन्तेन्चो रेलस्टेसन नजिकै अवस्थित छ।
चलचित्र ‘परान’ ले बाबुआमाले बुढेसकालमा सन्तानबाट चाहने साथ, माया र भरोसा तथा सन्तानले आफ्नै सपना र आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने पारिवारिक द्वन्द्व र भावनात्मक अवस्थालाई कथावस्तुका रूपमा प्रस्तुत गरेको छ। पारिवारिक संवेदनशीलतामा आधारित यो चलचित्रले विशेषगरी परिवारसहितका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
दिपक प्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको यस चलचित्रको मुख्य भूमिकामा नीर शाह रहेका छन्। उनका अलावा चलचित्रमा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यको अभिनय रहेको छ।
नेपाली समाज, संस्कृति र पारिवारिक मूल्य–मान्यतालाई समेटिएको चलचित्र ‘परान’ ओसाका तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली दर्शकहरूका लागि नेपाली सिनेमा अवलोकन गर्ने महत्वपूर्ण अवसर हुने आयोजकको विश्वास रहेको छ।
प्रतिक्रिया