जापान — कास्की पोखरा समाज जापान र जापानको कोमागाने सहरका मेयरबीच आपसी सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा नेपाल र जापानबीच सामाजिक, स्वास्थ्य तथा मानव स्रोत विकाससम्बन्धी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहियो।
छलफलका प्रमुख कार्यसूचीमा पोखरास्थित मितेरी अस्पताललाई सहयोग पुर्याउने उद्देश्यले जापानको फुरुसातो कर प्रणालीमार्फत सहयोग संकलन गर्ने, कोमागाने सहरमा नेपाली समुदायको पहिचान झल्किने ‘नेपाली चौतारी’ निर्माण गर्ने तथा सेवाकर्मी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने विषयहरू रहेका थिए।
उक्त छलफल कार्यक्रममा कोमागाने सहरका मेयर इतो युजो, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा कास्की पोखरा समाज जापानका संरक्षक रोबिन शेरचन, कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बाँस्तोला, उपाध्यक्ष बिस्सु भण्डारी, निवर्तमान अध्यक्ष सन्देश अधिकारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता सहकार्य पहलले नेपाल–जापानबीचको मित्रता अझ मजबुत बनाउने तथा दुवै पक्षलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्। छलफललाई आगामी दिनमा ठोस कार्ययोजनामा रूपान्तरण गर्दै कार्यान्वयनतर्फ अघि बढाइने समेत जानकारी दिइएको छ।
प्रतिक्रिया