बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष होमनाथ चालिसेले राजीनामा दिँदै!

काठमाडौं - बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डा.होमनाथ चालिसेले राजीनामा दिने तयारी गरेका छन्।

उनलाई राजीनामा दिन मुख्यमन्त्री शालिकराम जम्मकट्ट्लले दबाव दिएको स्रोतले जनाएको छ। उनको नियुक्त भएसँगै बागमती प्रदेशका माओवादी नेताहरुले प्रदेशबाहिरका चालिसेलाई नियुक्ति गरिएको भन्दै असन्तुष्टि जनाएका थिए।

उनको नियुक्तिका सूत्रधार मानिने माओवादी नेता राष्ट्रिय सभाका सांसद नारायण दाहालमाथि आर्थिक लाभ लिएको आरोप लागेको छ।
माओवादी नेता तथा राष्ट्रिय सभाका सांसद दाहालले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पारिवारिक नातेदार बताउँदै आर्थिक अनियमिता गरेको आरोप लाग्ने गरेको छ।

उनै दाहालले माओवादीमा कुनै योगदान नभएका चालिसेलाई प्रदेश योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको स्रोतले जनाएको छ।
नियुक्ति भएसँगै विबादमा आएका चालिसेलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तत्काल राजीनामा दिन दबाव बढाएको स्रोतले जनाएको छ।

उनी माओवादी पृष्ठभूमिका समेत नरहेको र नियुक्ति प्रक्रियामा आर्थिक चलखेल गरिएको भन्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो।

बागमती प्रदेशका स्थानीयबासीलाई नियुक्त नगरेर बर्दियाबासी चालिसेलाई नियुक्त गरिएको भन्दै उनको माओवादी बागमती प्रदेशका नेताहरु समेत असन्तुष्ट रहेका थिए।

उनको राजीनामाबारे मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले आफूलाई यस विषयमा जानकारी नभएको बताए।

उनले आफू केही दिनदेखि प्रदेश राजधानी हेटौंडाबाहिर रहेकाले यस विषयमा जानकारी नभएको डिसी नेपालालाई जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘म केही दिन देखि प्रदेश राजधानी बाहिर छु यस विषयमा जानकारी छैन ।’

यस विषयमा जानकारी लिन प्रदेश योजना आयोगका उपाध्यक्ष चालिसेलाई सम्पर्क गर्दा उनले राजीनामाबारे आफू बेखबर भएको बताए।

उनले आफूलाई यस विषयमा कुनै जानकारी नभएको र राजीनामा दिने मनस्थितिमा नरहेको जनाए। उनले भने, ‘राजीनामाको विषयमा मलाई कुनै जानकारी छैन। अहिले सम्म्म मैले राजीनामा दिने कुनै तयारी गरेको छैन।’

तर, चालिसे राजीनामा दिने अन्तिम तयारीमा लागेका छन्। उनलाई एक दुई दिनभित्रमै राजीनामा दिन मुख्यमन्त्री जम्मकट्टेलले दबाव दिइरहेको स्रोतले बतायो।