images

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेड ले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।कम्पनीले कुल निष्कासित सेयरमध्ये ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि तथा २८ हजार ४४० कित्ता कर्मचारीका लागि छुट्याएको जनाएको छ । बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, अनलाइन माध्यमबाट ‘मेरो शेयर’ प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो । सोही अनुमति अन्तर्गत पहिलो चरणमा कम्पनीले गत पुस १३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरेको थियो ।पहिलो चरणअन्तर्गत शेयर बाँडफाँट प्रक्रिया सम्पन्न गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आज कार्यालय समयभित्र आवेदन नदिएमा लगानीकर्ताले यस अवसरबाट वञ्चित हुनुपर्ने भएकाले इच्छुक लगानीकर्तालाई समयमै आवेदन दिन आग्रह गरिएको छ ।

सोमबार ४ फागुन २०८२ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया