images

केशव शर्माको नाममा ‘जापान लोक तारा २०२६’ उपाधि

टोकियो, जापान । टोकियोमा सम्पन्न ‘प्रथम जापान लोक तारा २०२६’ मा केशव शर्मा प्रथम हुँदै ‘जापान लोक तारा २०२६’ को उपाधि जित्न सफल भएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाद्वारा आयोजित प्रतियोगितामा तनुजा शाही द्वितीय, पार्वती आचार्य तृतीय तथा किरण प्रभात र आरती परियार सान्त्वना स्थान हासिल गर्न सफल भए।

प्रतियोगितामा प्रथम हुने शर्माले नगद १ लाख १ हजार येनसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। कार्यक्रममा लोकप्रिय लोकगायक तथा सर्जक रामकृष्ण बम मल्ललाई “लोक सङ्गीत शिरोमणि–२०२६” सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षण वरिष्ठ लोक तथा दोहोरी गायक अम्बर बिरही गुरुङको विशेष सांगीतिक प्रस्तुति रह्यो। ७२ वर्षको उमेरमा पनि ऊर्जावान प्रस्तुति दिएका गुरुङले आफ्ना कालजयी गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

जापानका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल प्रमुख अतिथिको रूपमा सहभागी कार्यक्रममा नेपाली कला, संस्कृति र लोकसङ्गीतको संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरिएको थियो।

प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रम जापानस्थित नेपाली समुदायका लागि अविस्मरणीय सांगीतिक उत्सवका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

मङ्गलबार २ असार २०८३ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया