images

जङ्गलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ 

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा सामुदायिक वनमा  आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।   जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेका अनुसार पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका ५० वर्षीय पदमबहादुर विक र उनैकै भाइ ४५ वर्षीय चन्द्रबहादुर विक रहेका छन् ।  सामुदायिक वनको जङ्गलमा आगो लगाई भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा शनिबार उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई अनुसन्धानको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । सो जङ्गलमा शुक्रबार टोकरपुरको छाङखोलाको छेउबाट आगो लागेको थियो । आगो अहिले शैलुङको जङ्गलमा फैलिएको छ । आगोले शैलुङको वन क्षेत्रमा ठुलो क्षति भएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
 

सोमबार ३ चैत २०८१ ०९:२९ AM मा प्रकाशित

प्रतिक्रिया