images

कैलालीमा वन्यजन्तुका अंग गायब प्रकरण स् प्रहरी निरीक्षक भण्डारीसहित १३ जना जिल्ला तानिए, कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौं । कैलालीमा वन्यजन्तुका अंग बरामद गरिएको घटनामा मुद्दा कमजोर बनाइएको आरोपमा प्रहरी निरीक्षक दानसिंह भण्डारीसहित १३ जना प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।प्रदेश प्रहरी कार्यालय धनगढीको निर्देशनमा ती सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको स्रोतले जनाएको छ । उनीहरूमाथि सोधपुछपछि थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।घटनासम्बन्धी विवरणअनुसार, गत साउन ९ गते गोदावरी नगरपालिका–८ बाट दुई भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए । तर मुद्दा चलाउने क्रममा बरामद चित्तलको सिङ र खुट्टा विवरणबाट गायब पारिएको पाइएपछि अनुसन्धान अधिकृतका रूपमा कार्यरत प्रहरी निरीक्षक भण्डारीसहितका प्रहरीमाथि छानबिन सुरु गरिएको थियो । छानबिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले आफ्नो प्रतिवेदनमा वन्यजन्तुका अंग लुकाउन प्रहरीकै संलग्नता देखिएको निष्कर्ष निकाल्दै नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरेको छ । यद्यपि, प्रतिवेदन बुझाएको तीन महिना बितिसक्दा पनि कारबाही कार्यान्वयनमा ढिलाइ भएको देखिएको छ । प्रहरीका अनुसार प्रतिनिधि सभा निर्वाचनका कारण प्रक्रिया प्रभावित भएको हो । तत्कालीन समयमा इलाका प्रहरी कार्यालय माला खेतीमा कार्यरत अधिकांश प्रहरी सरुवा भइसकेका भए पनि उनीहरूलाई कार्यरत रहेकै स्थानबाट जिल्ला हाजिर हुन निर्देशन दिइएको छ ।

बुधबार ४ चैत २०८२ १२:३१ PM मा प्रकाशित

प्रतिक्रिया