काठमाडौं । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित समुदायको जीविकोपार्जन सुदृढ गर्ने उद्देश्यसहित सीपमूलक तालिम कार्यक्रम सुरु गरेको छ ।आयोजनाबाट पहिलो चरणमा रसुवाको राम्चे, कालिकास्थानलगायतका प्रभावित क्षेत्रका ४० जनालाई तालिम प्रदान गर्न थालिएको हो ।आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा।लि।ले कालिका गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेको उक्त तालिम कार्यक्रमको मंगलबार कालिका गाउँपालिका वडा नं। १ कार्यालयमा औपचारिक उद्घाटन गरिएको हो ।आयोजना प्रभावित घरपरिवारको आवश्यकता, माग तथा सम्भावनालाई आधार मानेर २० जनालाई केयर गिभर र २० जनालाई होटल सञ्चालनसम्बन्धी तालिम दिइँदैछ । कम्पनीका अनुसार आगामी चरणमा आयोजना प्रभावित अन्य पालिकाका वडाहरूमा समेत क्रमशः तालिम कार्यक्रम विस्तार गरिनेछ । समग्रमा यस कार्यक्रममार्फत करिब ३७० जना आयोजना प्रभावितलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको छ ।तालिम उद्घाटन कार्यक्रममा कालिका गाउँपालिका वडा नं। १ का अध्यक्ष दावा तामाङले मागमा आधारित र वडास्तरमै सञ्चालन गरिएको तालिमले स्थानीय सहभागिता सहज बनाएको बताए । यस किसिमका कार्यक्रमले स्थानीयस्तरमै दक्ष जनशक्ति विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै उनले सहभागीहरूलाई तालिम अवधिभर सक्रिय सहभागिता जनाई प्राप्त सीप व्यवहारमा उतार्न आग्रह गरे ।कार्यक्रममा नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा।लि।का प्रमुख सञ्चालन अधिकृत सङ्घी माले आयोजना प्रभावित घरपरिवारको सामाजिक तथा आर्थिक अवस्था सुदृढ बनाउनेतर्फ कम्पनी प्रतिबद्ध रहेको बताए ।उनका अनुसार आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत प्रभावित गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराइनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति संरक्षण, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन अभिवृद्धि जस्ता क्षेत्रमा निरन्तर सहयोग हुँदै आएको छ ।सन् २०१८ मा गरिएको माग–आधारित मूल्याङ्कनका आधारमा प्रभावित क्षेत्रमा सञ्चालन गरिने तालिम कार्यक्रम तय गरिएको थियो । पछिल्लो अद्यावधिक घरधुरी सर्वेक्षण, द्रुत बजार मूल्याङ्कन तथा स्थानीय माग विश्लेषणका आधारमा हाल ती तालिमहरू परिमार्जनगरिएको कम्पनीले जनाएको छ ।प्रारम्भिक बाल विकास सहजकर्ता, मेसन, वेटर, बेकरी, कुक, सिलाइकटाइ, ब्युटी पार्लर, हाउसकिपिङलगायतका तालिमहरू समुदायको रुचि र वर्तमान बजार आवश्यकताअनुसार तय गरिएका छन् । यी तालिमहरू रोजगारी, स्वरोजगारी तथा आयआर्जन प्रवद्र्धनमा केन्द्रित रहेका छन् । सरकार र कम्पनीबीच भएको आयोजना विकास सम्झौता ९पीडीए० बमोजिम नेपाल रोजगार तथा सीपमूलक तालिम योजना तयार गरी सोहीअनुसार आयोजना प्रभावित क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको हो ।कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ आयोजना रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकु क्षेत्रमा बाँधलगायत संरचना तथा उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह निर्माणाधीन अवस्थामा छ । आन्तरिक खपतका लागि उत्पादन हुने यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।आयोजनाको मुख्य निर्माण कार्य २०७८ साल पौष महिनादेखि सुरु भएको हो । हाल भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायत संरचनाहरू तीव्र गतिमा निर्माण भइरहेका छन् । आयोजनाको समग्र भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ भने निर्माण कार्य २०८३ साल मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया