images

कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बिहान ९ बजे बस्दैछ । सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो । 
बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा छलफल गर्दैछन् । कांग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएकोमा आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए । कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधनमाथि समेत छलफल हुने जनाइएको छ । 
अब सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकले निर्णय लिने कांग्रेस नेताहरुले बताएका छन् । आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन् । 
संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबीच शनिवारै सैद्धान्तिक सहमति भइसकेको छ । तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन । कांग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने भन्दै आएको छ ।
आइतबारको सम्बोधनमा गृहमन्त्री लामिछानेले आफू निर्दोष रहेकोमात्रै दाबी नगरेर धम्कीपूर्ण भाषामा कांग्रेस नेताहरुमाथि लाञ्छना लगाएका कारण संसद्मा कांग्रेस अब झन् कडारुपमा प्रस्तुत हुन सक्ने आंकलन समेत भइरहेको छ । 
 

सोमबार ६ जेठ २०८१ ०८:०० AM मा प्रकाशित

प्रतिक्रिया