“तामाकोशी सललल” गीत सार्वजनिक, दोलखाको मौलिकता र पर्यटन प्रवर्द्धन गर्ने प्रयास

 

दोलखा जिल्लाको जिरी नगरपालिका–८ मा जन्मिनुभएका समाजसेवी बीबी फुँयाल को सिर्जनामा तयार गरिएको “तामाकोशी सललल” बोलको गीत सार्वजनिक गरिएको छ। दोलखाको मौलिकता, कला, संस्कृति तथा सांगीतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त गीत हिजो एयरपोर्ट होटलमा आयोजित एक भव्य समारोहबीच भिडियोसहित विमोचन गरिएको हो।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, कलाकार तथा पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा दोलखाका प्राज्ञिक व्यक्तित्व एवं साहित्यकार टेक बहादुर जिरेल ले जिरीको सुगन्धलाई गीत–संगीतमार्फत फैलाउने प्रयास प्रशंसनीय रहेको बताउनुभयो। उहाँले आफूले पढाएको विद्यार्थीको प्रगति र जन्मथलोप्रतिको चासोले आफूलाई गौरवान्वित बनाएको उल्लेख गर्दै बीबी फुँयालको बाल्यकाल र संघर्षका दिनहरू पनि स्मरण गर्नुभयो।

त्यस्तै कार्यक्रममा बौद्धिक व्यक्तित्व राजिव सेढाईं ले दोलखाका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विशेषतामाथि प्रकाश पार्नुभएको थियो।

गीतका सर्जक, समाजसेवी तथा पर्यटन प्रवर्द्धक बीबी फुँयाल ले आफ्नो पहिलो सिर्जनामार्फत दोलखा र जिरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको बताउनुभयो।

कार्यक्रममा दोलखामा जन्मिनुभएका सुप्रसिद्ध वरिष्ठ कलाकार कुमार बस्नेत तथा पूर्व विद्यार्थीको हैसियतबाट जिरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहनुभएका टेक बहादुर जिरेल लाई माला, दोसल्ला र ताम्रपत्रसहित विशेष सम्मान प्रदान गरिएको थियो।

सम्मानपछि कलाकार कुमार बस्नेत ले नेपाली मौलिक गीत–संगीतको संरक्षण आवश्यक रहेको बताउनुभयो। “जिरीले मलाई पहिलोपटक सम्झिए पनि मेरा गीतमार्फत मैले पहिल्यै जिरीलाई सम्झिएको छु,” भन्दै उहाँले आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो।

साहित्यकार सुशिला खड्का हसिना ले कार्यक्रमले दोलखालीबीचको सम्बन्धलाई पुनर्ताजगी गर्ने काम गरेको बताउनुभयो।

कल्याण सिंह र सुनिता थेगिम को स्वर रहेको उक्त गीत बीबी डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतमा जिरीसहित दोलखाका विभिन्न प्रसिद्ध पर्यटकीय स्थलहरूमा पुगेर छायांकन गरिएको छ। साथै, गीतको भिडियोमा चर्चित कलाकार बद्रीप्रसाद तिवारी र सोल गुरुङ को अभिनय रहेको छ।