एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल को सँग हुँदैछ ? 

 काठमाडौँ - आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ ।

यस संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् ।