images

जापानको टोकियोमा लोकप्रिय देउडा गायक गायिका चक्र बम र रेखा जोशिको सांगीतिक धमाका

‘सुदूरपश्चिम साँझ’मा झुमे नेपाली

भवानी भट्ट, टोकियो।

जापानको टोकियोमा घटस्थापनाको दिन आयोजित ‘सुदूरपश्चिम साँझ’ लोकप्रिय देउडा गायक चक्र बम र चर्चित गायिका रेखा जोशीका सांगीतिक प्रस्तुतिले गुञ्जायमान बनेको थियो। सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा अक्टोबर ११ मा सम्पन्न कार्यक्रममा नेपाली दर्शकको उल्लेख्य सहभागिता रह्यो। चर्चित लोकगीतको लयमा दर्शक झुम्दा कार्यक्रमस्थल देउडामय बनेको थियो। चक्र बमको लोकप्रिय गीत ‘ओइ काजल, आँखी लगाइदे गाजल.....’ गुञ्जिँदा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए।

त्यस्तै, रेखा जोशीले ‘कानैमा लाउला सुन’...... लगायतका चर्चित गीत प्रस्तुत गर्दा दर्शकले स्वरमा स्वर मिलाउँदै रमाएका थिए। कलाकारका प्रस्तुतिसँगै दर्शकको ताली, हुटिङ र नाचगानले कार्यक्रमस्थललाई उत्सवमय बनाएको थियो। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा आयोजित सांगीतिक साँझले जापानमा रहेका नेपालीलाई नेपाली गीत-संगीतको लयमा रमाउने अवसर दिएको थियो। रोजगारी, व्यवसाय र अध्ययनका सिलसिलामा जापानमा रहेका नेपालीहरू गीत-संगीतसँगै आफ्नै गाउँघर, माटो र संस्कृतिको सम्झनामा रमाएका थिए।

कार्यक्रममा नेपाली व्यवसायी, विद्यार्थी, गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्य, समाजसेवी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा बालबालिकासहित परिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो। दर्शकको उत्साहले कार्यक्रमलाई मनोरञ्जनसँगै नेपाली समुदायबीच भेटघाट, आत्मीयता र सांस्कृतिक एकता अभिवृद्धि गर्ने साझा उत्सवका रूपमा स्थापित गरेको थियो।

देउडाको भाकामा सुदूरपश्चिमको झल्को

चक्र बम र रेखा जोशीका लोकप्रिय गीतसँगै कार्यक्रममा सुदूरपश्चिमको मौलिक देउडा संस्कृति र लोकभाकाको झल्को देखिएको थियो। गीतका लय र भाकाले प्रवासमा रहेका नेपालीलाई आफ्नो क्षेत्रको भाषा, संस्कृति र परम्परासँग जोडेको थियो। विशेषगरी नयाँ पुस्तालाई सुदूरपश्चिमको मौलिक संगीत र सांस्कृतिक पहिचानसँग परिचित गराउन कार्यक्रमले भूमिका खेलेको थियो। सुदूरपश्चिमेली नेपाली समाज जापानका अध्यक्ष विकास रोकायले प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका थिए।

यस्ता कार्यक्रमले नेपाली समुदायलाई एकताबद्ध बनाउनुका साथै नयाँ पुस्तासम्म मौलिक संस्कृतिको महत्त्व पुर्‍याउन सहयोग गर्ने उनको भनाइ थियो। समाजका महासचिव सुमित रोकायाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, दर्शक, व्यवसायी, सहयोगी तथा विभिन्न संघसंस्थाप्रति आभार व्यक्त गरेका थिए। उनले आगामी दिनमा पनि नेपाली कला, संस्कृति र मौलिक पहिचानको प्रवर्द्धनमा समाजले निरन्तर काम गर्ने बताएका थिए।

व्यवसायी तथा समाजसेवी केशव ओझाले सुदूरपश्चिमको कला, संस्कृति र संगीतलाई जापानमा अझ व्यवस्थित र प्रभावकारी रूपमा प्रस्तुत गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। पत्रकार तथा संस्थाका संस्थापक पूर्ण चलाउनेलगायतले पनि प्रवासमा नेपाली लोकसंगीत, देउडा र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रम संयोजक मोहन कार्कीले कार्यक्रम सफल बनाउन साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए। प्रवासमा रहेका नेपाली समुदायलाई एउटै मञ्चमा जोड्दै सुदूरपश्चिमको कला-संस्कृतिलाई जापानमा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताएका थिए।

कार्यक्रम सफल बनाउन समाजका सम्पूर्ण कार्यसमिति सदस्य तथा स्वयंसेवकहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कार्यक्रम व्यवस्थापन, अतिथि सत्कार तथा दर्शकको सहज सहभागितालगायतका काममा उनीहरू सक्रिय रूपमा खटिएका थिए। आयोजक, कलाकार, सहयोगी र स्वयंसेवकहरूको सामूहिक प्रयासले कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न योगदान पुगेको थियो।

सांगीतिक उत्सवसँगै बाढीपीडितलाई सहयोग

‘सुदूरपश्चिम साँझ’लाई सांस्कृतिक मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक सेवासँग समेत जोडिएको आयोजकले जनाएको छ। कार्यक्रमबाट संकलित रकम नेपालका बाढीपीडितलाई सहयोग गरिने आयोजकले जनाएको छ। प्रवासमा रहेर पनि मातृभूमिमा विपद् पर्दा सहयोग गर्ने उद्देश्यले अघि सारिएको यस पहलले नेपाली समुदायको सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता झल्काएको छ। चक्र बम र रेखा जोशीका सांगीतिक प्रस्तुतिले टोकियोमा दसैँको रौनक थपेको यस कार्यक्रमले नेपाली लोकसंगीतप्रतिको आकर्षण र प्रवासमा मौलिक संस्कृतिप्रतिको आत्मीयता उजागर गरेको छ।

दर्शकको उत्साहजनक सहभागिता, सांस्कृतिक प्रस्तुतिहरू र सामाजिक सेवाको उद्देश्यले ‘सुदूरपश्चिम साँझ’लाई थप अर्थपूर्ण बनाएको थियो। सुदूरपश्चिमको कला, संस्कृति र संगीतलाई जापानका विभिन्न सहरमा प्रवर्द्धन गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमलाई निरन्तरता दिइएको छ। यसै क्रममा अक्टोबर १२ मा ओसाकामा सांगीतिक साँझ आयोजना हुँदैछ भने अक्टोबर १७ मा फुकुओकामा कार्यक्रम आयोजना गरिनेछ। यी कार्यक्रममार्फत जापानमा रहेका नेपालीमाझ सुदूरपश्चिमको मौलिक लोकसंगीत र सांस्कृतिक पहिचानलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

सोमबार २६ असोज २०८३ ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया