ओसाका,जापान। जापानको ओसाका स्थित चुरुमी रेउकुची पार्कमा अवस्थित विश्वका विभिन्न देशहरुमध्ये नेपालको नामबाट रहेको प्यागोडा शैलीको मन्दिरको तेस्रो चरणको सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
नेपाली युवाहरुको समूह “ब्लु ब्वाइज युनियन”का सदस्यहरुले सेप्टेम्बर २० तारिख शनिबारको दिन तेस्रो चरणको सरसफाई गरेका हुन् ।जसको नेतृत्व संस्थाका अध्यक्ष वासुदेव लामिछानेले गरेका थिए भने अन्य सदस्यहरुको पनि उपस्थित रहेको थियो । उक्त सरसफाई कामको लागि वडा कार्यलयसँग अनुमति प्राप्त गरि सुरु गरिएको थियो ।यो भन्दा पहिले १ वर्ष अघि पनि मन्दिरको वरिपरि साना रुख र झारहरुको झाडी भएको साथै पातपतिङ्गारहरुको फोहोर रहेकाले सरसफाई गरिएको थियो भने अहिले पनि उस्तै फोहोर भएकोले आउदैँ गरेको हिन्दुहरुको महान पर्व विजया दशमीलाई मध्यनजर गर्दै सरसफाईको काम गरिएको संस्थाका सचिव प्रदीप खड्काले जानकारी दिए ।
सरसफाईको काम गर्दै गर्दा उक्त मन्दिरमा घुम्न आउने नेपालीहरुले पनि हातेमेलो गर्दै साथ दिएका थिए। सरसफाई कार्यक्रम बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म गरि १ गाडी फोहोर जम्मा गरि वडा कार्यलयको कर्मचारीबाट बाहिर लगिएको थियो। सरसफाईको लागि आवश्यक सामाग्रीहरु पनि वडा कार्यलयबाट नै उपलब्ध गराईएको थियो ।
जापानको ओसाका चुरुमी वार्डमा रहेको यो मन्दिर नेपालको विश्वसम्पदामा सुचिकृत पशुपतिनाथ मन्दिरको ढाँचामा रहेको छ भने उक्त मन्दिरमा विदाको समयमा नेपालीहरु घुमफिर साथै दर्सनको लागि पनि जाने गर्दछन। सोहि नेपाली मन्दिर रहेको क्षेत्र परिसरमा करिब २० भन्दा बढी अन्य देशका पनि मन्दिरहरु रहेका छन। पछिल्लो समय जापानमा नेपालीहरुबाट बढ्दो अनैतिक तथा नेपालीहरुलाई नै बदनाम हुने खालका क्रियाकलापहरु बढिरहँदा यस सरसफाई कार्यक्रमले थोरै भएनि सकारात्मक सन्देश दिनेछ भन्ने कुरा अध्यक्ष लामिछानेले बताए।
प्रतिक्रिया