images

एनआरएनए कान्साईको संयोजक पदमा टिआर गौडेलले उमेदवारी दिने 

ओसाका, जापान । गैर आवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको आगामी कार्यकालका लागि संयोजक पदमा वर्तमान कार्यसमितिका उपसंयोजक टि आर (तुलसीराम) गौडेलले आफ्नो उम्मेदवारी दिनुहुने भएको छ ।

एनआरएनए कान्साई क्षेत्रीय समितिको स्थापना भएको लामो समय भइसक्दा पनि हालसम्म आफ्नै भवन नभएकोले यसपटक कान्साईवासी नेपालीहरूको अपनत्व हुनेगरी एनआरएनए कान्साईको आफ्नै एउटा भवन बनाउने लक्ष्य सहितको आफ्नो उमेदवारी रहेको गौडेलले जानकारी दिनुभयो । नियमित गतिविधि तथा भैपरी आउने समस्या समाधानका लागि पनि बाहिरका अन्यत्र ठाउँहरूमा भर पर्नुपर्ने भएकोले र संस्थाको बिबिध बिषयको गतिविधिको लागि आफ्नै भबनको आवश्यकता महसुस गरि आगामी कार्यकालमा  संस्थाको आफ्नै भबनको निर्माण गर्न आफुले उम्मेदवारी दिन लागेको बताउनुभयो ।

एनआरएन जापान कान्साई क्षेत्रीय समितिलाई व्यवस्थित र संस्थागत बनाउँदै औपचारिक रूपमा दर्ता गरेर कानुनी रूपमा पनि अझै बलियो बनाउन सशक्त रूपमा अगाडि बढ्नका लागि पनि आफूले आगामी कार्यकालका लागि संयोजकको रूपमा काम गर्न चाहेको गौडेलको भनाइ छ ।

नेपालीहरूको विभिन्न समस्यालाई सम्बोधन गर्नका लागि संस्थाको आफ्नै दीर्घकालीन सञ्चारको साधन आवश्यक पर्ने भएकोले टोल फ्री टेलिफोनको लागि पहल गर्ने र यसलाई व्यवस्थित गर्ने पनि आफ्नो उद्देश्य रहेको उहाँले बताउनुभयो।  एनआरएनए कान्साईले आयोजना गरेको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको संयोजक भई काम गरी सक्नु भएका गौडेलले भरखरै सम्पन्न नेपाल फेस्टिवलको सांस्कृती संयोजक भई कुशलतापूर्वक कार्य सम्पादन गरी सक्नु भएको र एनआरएनए जापान तथा यस संग सम्बन्धीत नेपाली जनसमुदायका कल्याण निम्ती सधै अग्रसर सहने समेत बताउनु भयो ।   

एनआरएनए कान्साई बाट हालसम्म भएका गतिविधिलाई निरन्तरता दिँदै, नयाँ सृजनशील कुराहरूलाई आत्मसाथ गर्दै आगामी दिनहरूमा अझै प्रभावकारी बनाउँदै जाने गौडेलको प्रतिबद्धता छ।

जापानमा रहेका नेपालीहरूको सुख दुःखमा साथ दिँदै आउनुभएका गौडेलले नेपालीहरूलाई अप्ठ्यारो परेको बेलामा भौतिक रुपमा नै उपस्थित भई सहयोग गर्दै आउनुभएको छ । लामो समय नेपालको पत्रकारितामा समेत आबद्ध गौडेलसँग भारतीय टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो हरूमा भिडियो सम्पादकको रूपमा समेत कार्य गरेको अनुभव छ । उहाँ एक कुशल गीतकार पनि हुनुहुन्छ।

२०१२ देखि जापानलाई आफ्नो कर्मथलो बनाउदै आउनुभएका गौडेल लामो समय देखी सामाजिक सेवाको क्षेत्रमा आबद्ध हुनुहुन्छ । गौडेल २०२१-२०२३को कार्यकालबाट औपचारिक रूपमा एनआरएनए कान्साईको कार्यसमितिमा रहेर विभिन्न गतिविधिमा संलग्न हुनुभएको हो ।

आइतबार​ ८ असार २०८२ ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया