images

पूर्वाधार क्षेत्रको विकासका लागि वर्तमान सरकारले गरेका निर्णयहरूको महासंघका कार्यवाहक अध्यक्षबाट स्वागत, निर्माण व्यवसायीहरूलाई जिम्मेवारबोध गर्दै कार्य सम्पादन गर्न आग्रह

साउन, ६ दाङ । नेपाल निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ‘मुकेश’ ले वर्तमान सरकारबाट पूर्वाधार क्षेत्रको विकासका लागि भएका पछिल्ला निर्णयहरूको स्वागत गरेका छन् । दाङको घोराहीमा बुधवार लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघको छैठौं साधारण सभा एवं तेस्रो अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष पन्तले पूर्वाधारमैत्री निर्णयहरूका लागि सरकारप्रति आभार व्यक्त गरेका छन् । सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, निर्माण उद्योगका लागि कोशेढुंगा सावित हुने पन्तले बताए ।  ‘लो बिडिङ’ मार्फत् ठेक्का हालेर काम लिने प्रथाको अन्त्य गरी औसत विधिबाट ठेक्का प्राप्त गर्ने संशोधित ऐनको नियमले पूर्वाधार क्षेत्रका अधिकांश समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे । बजेट विनियोजन वा स्रोत सुनिश्चित नभई खरिद प्रक्रिया शुरु गर्न नपाइने, जग्गा, मुआब्जा, निर्माणस्थल र वातावरणीय स्वीकृति पूरा भएपछि मात्र बोलपत्र आव्हान गरिने, सरकारद्वारा स्वीकृत मापदण्ड अनुसार लागत अनुमान तयार गर्नुपर्ने, नियोक्ता, निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाताको जिम्मेवारी स्पष्ट रुपमा तोकिन्, समयै गुणस्तरीय काम सम्पन्न गरेमा सम्बन्धित कर्मचारीलाई प्रोत्साहन, बोनस तथा अन्य सुविधा दिने, निर्माण व्यवसायीलाई पनि तोकिए बमोजिमको प्रोत्साहन र प्रशंसा पत्र दिने लगायतका संशोधित ऐनको नियमको उनले स्वागत गरे ।  निर्माण व्यवसायीहरू आर्थिक रुपमा इतिहासकै सबैभन्दा कठिन मोडमा रहेको बखत म्याद थप सुनिश्चित हुने गरी सार्वजनिक खरिद नियमावलीको १५ औं संशोधन गरिदिएकोमा उनले सरकारप्रति धन्यवाद व्यक्त गरे । निर्माण व्यवसायीहरूलाई ठूलो राहत पुग्ने गरी राष्ट्र बैंकबाट जारी गरिएको मौद्रिक नीति एवं सोही बमोजिमको निर्देशनले निर्माण उद्योगलाई चलायमान बनाउने उनको भनाइ थियो । महासंघको वर्तमान नेतृत्व निर्माण व्यवसायी मैत्री हुने गरी निर्माण व्यवसायी ऐन २०५५ संशोधनमा क्रियाशील रहेको उनले बताए । सरकारले पूर्वाधार क्षेत्रलाई उच्च महत्व दिई सोही बमोजिम निर्णयहरू गरिरहेको सन्दर्भमा निर्माण व्यवसायीहरूलाई पनि जिम्मेवारबोध गर्दै कार्य सम्पादन गर्न उनले आग्रह गरे । उनले महासंघको वर्तमान नेतृत्वले परम्परागत कार्यशैलीलाई परिवर्तन गर्दै महासंघलाई प्रविधिमैत्री, पारदर्शी, उत्तरदायी र आधुनिक संस्थाको रूपमा रूपान्तरण गर्ने अभियान सफलतापूर्वक अघि बढाएको जानकारी दिए । डिजिटल प्रणालीको विस्तार, अनलाइन सेवाको प्रवद्र्धन, सूचना प्रविधिको प्रभावकारी प्रयोग तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै महासंघलाई समयानुकूल र परिणाममुखी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष बलिभद्र रानाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रका अन्य वक्ताहरूले निर्माण व्यवसायी र सरकारबीचको सहकार्यबाट पनि छिटै समृद्ध मुलुक बनाउन सकिने धारणा राखेका थिए ।

बुधबार ६ साउन २०८३ ०४:१९ PM मा प्रकाशित

प्रतिक्रिया