टोकियो — पछिल्लो समय विशेषगरी नेपाली युवा पुस्तामाझ अत्यधिक लोकप्रिय गायक–गीतकार सज्जनराज वैद्य पहिलोपटक जापानमा लाइभ कन्सर्टका साथ प्रस्तुत हुने भएका छन्।
आगामी २०२६ मार्च १० तारिखका दिन टोकियोको हाराजुकु स्टेशनबाट करिब ३ मिनेटको दूरीमा रहेको योयोगी नेशनल स्टेडियममा सज्जनराज वैद्यको लाइभ कन्सर्ट आयोजना हुने आयोजकले जानकारी दिएका छन्। करिब ५ हजार दर्शक क्षमता रहेको उक्त स्टेडियममा आयोजना हुन लागेको यो कार्यक्रम जापानमा नेपाली कलाकारद्वारा गरिने पहिलो ऐतिहासिक कार्यक्रम हुने बताइएको छ। करिब एक वर्ष लामो निरन्तर प्रयासपछि सो नेशनल स्टेडियम कन्सर्टका लागि उपलब्ध हुन सकेको आयोजक पक्षको भनाइ छ।
जिएमटी इन्टरनेशनलको मुख्य ब्यानरमा आयोजना हुन लागेको यस कन्सर्टका लागि नेपालबाट दर्जनभन्दा बढी कलाकारहरू जापान आउनेछन्। टोकियोसँगै नागोया, फुकुओका र ओसाका सहरहरूमा पनि सज्जनराज वैद्य ब्याण्डको लाइभ कन्सर्ट आयोजना गर्ने तयारी भइरहेको बुझिएको छ।
यसअघि सज्जनराज वैद्यले बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलियाका विभिन्न सहरहरूमा दर्जनौँपटक तथा मध्यपूर्वका दुबई, दोहा र भारतका मुम्बई, दिल्लीलगायतका सहरहरूमा पचासौँ हजार दर्शकमाझ सफल कन्सर्टहरू गरिसकेका छन्। जापानमा भने यो उनको पहिलो प्रस्तुति हो। मार्च १० तारिखमा हुने कन्सर्टको टिकट अंग्रेजी नयाँ वर्ष २०२६ सुरु भएसँगै अनलाइनमार्फत बिक्रीमा राखिने आयोजक स्रोतले जनाएको छ।