रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। नगरको सोमबार सम्पन्न १७ औँ नगरसभामा नगरप्रमुख लबश्री न्यौपानेले नीति तथा कार्यक्रम र उपप्रमुख बाला कार्कीले बजेट प्रस्तुत गरे । नगरप्रमुख न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको समग्र विकास, सेवा प्रवाहको गुणस्तर सुधार र समावेशी पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले योजना निर्माणदेखि कार्यान्वयनसम्म स्थानीय जनताको सहभागिता सुनिश्चित गर्दै दिगो र उत्तरदायी विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधिको प्रयोग, सामाजिक समावेशिता, महिला सशक्तीकरण, जलवायु अनुकूलन, विपद् न्यूनीकरण, पर्यटन विकास, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राखिएको उल्लेख छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट उपप्रमुख बाला कार्कीले प्रस्तुत गरेकी हुन् । बजेटमा चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार ११० रुपैयाँ विनियोजन भएको छ । उक्त बजेटमा नगर प्रशासनको सञ्चालन, कर्मचारी तलब भत्ता, सामान्य सेवा प्रवाह, नियमित सामाजिक सुरक्षा कार्यक्रमलगायतका लागि चालु खर्च बढी देखिन्छ भने भौतिक पूर्वाधार, शिक्षा, कृषि तथा पर्यटनका विकास निर्माणका लागि पुँजीगत खर्च छुट्याइएको छ । नीति तथा कार्यक्रमअनुसार शिक्षा क्षेत्रमा विद्यालय सुधार, छात्रवृत्ति, विज्ञान प्रवद्र्धन, सिकाइ वातावरण सुदृढीकरणलगायत कार्यक्रम सञ्चालन गरिनेछ।
स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा सबै वडामा पु¥याउने, नियमित औषधि सेवन गर्ने बिरामीलाई सेवा पु¥याउने, मातृशिशु स्वास्थ्य र वृद्ध–वृद्धा लक्षित सेवामा जोड दिइने भएको छ ।
कृषि क्षेत्रमा प्रविधियुक्त खेती, व्यावसायिक कृषि, बीउ तथा मलको पहुँच विस्तार, अनुदान कार्यक्रम, पशुपालन, तरकारी तथा फलफूल खेतीमा प्रोत्साहन गरिने योजना छ। नगरले सहकारी र निजी क्षेत्रसँग सहकार्य गरेर कृषिजन्य उत्पादनको बजारीकरण गर्ने लक्ष्य लिएको छ। नगरले सूचना प्रविधिको प्रयोग गर्दै स्मार्ट प्रशासन प्रणाली विकास गर्ने, सेवा प्रवाहमा डिजिटल प्रणाली लागू गर्ने र पारदर्शिता अभिवृद्धि गर्ने योजना ल्याएको छ। पर्यटन विकासका लागि नगरभित्रका सम्भाव्य गन्तव्यको अध्ययन, प्रचार–प्रसार, पूर्वाधार निर्माण, पर्यटन व्यवसायसँग सम्बन्धित सीप विकास तालिम सञ्चालन गरिने जनाइएको छ। युवा लक्षित स्वरोजगार, उद्यमशीलता प्रवद्र्धन, सीपमूलक तालिम, व्यावसायिक तालिम र रोजगारी सिर्जना कार्यक्रमसमेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ। नगरप्रमुख न्यौपानेले बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबिच सहकार्य आवश्यक रहेको बताउँदै शब्दमा होइन, कार्यमा आधारित विकास चाहिने बताए ।
प्रतिक्रिया